Monday, November 27, 2017

आत्मनन्द बहुमुखी क्याम्पसमा चारवर्षे बिएडको पढाइ शुरू

इलाम।  जिल्लाको पश्चिमी माङ्सेबुङ गाउँपालिकामा पहिलोपटक स्नातक तहसम्मको पढाइ शुरू भएको छ ।

किराँत धर्मगुरू आत्मनन्द लिङ्देनको नाममा स्थापित ‘आत्मनन्द बहुमुखी क्याम्पस’ मा चारवर्षे शिक्षा संकायमा बिएडको पठनपाठन शुरू भएको हो ।

स्थानीय शैक्षिक अगुवाहरूको सक्रियतामा यसवर्ष उच्च शिक्षा अध्ययनका लागि माङ्सबेङमा क्याम्पस सञ्चालन गरिएको हो । आत्मनन्द बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर लिङ्देनका अनुसार त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा यसवर्षदेखि उच्च शिक्षातर्फ पठनपाठन थालिएको हो । कक्षा सञ्चालन स्थानीय भालुटार माध्यमिक विद्यालयमा हुने र पहिलो वर्ष क्याम्पसमा ३६ जना विद्यार्थी भर्ना भएका छन् ।

क्याम्पसका सहायक प्रमुख अबोध अविरलले तीन वर्ष लामो तयारीपछि औपचारिकरूपमा क्याम्पस सञ्चालन गर्न सकिएको बताउनुभयो । “भौतिक, आर्थिक अभावजस्ता समस्यासँग जुध्दै आफ्नै ठाउँमा शिक्षालय स्थापना गर्न सफल भयौँ”, अविरलले भन्नुभयो । क्याम्पसले बिएडसँगै आगामी शैक्षिक सत्रदेखि बिबिएस संकायको पठनपाठनसमेत सञ्चालन गरिने जनाइएको छ ।

माङ्सेवुङमा उच्च शिक्षाका लागि क्याम्पस सञ्चालनमा आएपछि त्यस क्षेत्रका विद्यार्थीहरू टाढा–टाढा गएर अध्ययन गर्नुपर्ने समस्याबाट मुक्त भएको स्थानीय शिक्षक शक्ति साँवाले बताउनुभयो ।

यो क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको छ । यस क्षेत्रमा ताप्लेजुङ, पाँचथर, इलामका विभिन्न गाउँबाट किरात समुदायका मानिस बसाइँ सरी गएका छन् । “उच्च शिक्षा अध्ययनका लागि यसअघि विद्यार्थी झापाको दमकतर्फ जानुपर्ने बाध्यता थियो, तर अब त्यो समस्या हटेर गएको छ”, शिक्षक साँवा भन्नुहुन्छ, “घर आँगनमै उच्च शिक्षा अध्ययन गर्न पाउँदा विद्यार्थी उत्साहित छन् ।”

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts