Thursday, November 2, 2017

सामाजिक रुपान्तरणमा सहयोग गर्न बेकरी तालीम

मुलुकमा महिला वर्गलाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यले दक्षिण कोरियाको एशिया वुमन ब्रिज नामक संस्थाले विभिन्न परियोजना सञ्चालन गरेको छ ।

नेपालमा व्यावसायिक सीप तथा क्षमता अभिवृद्धि गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने उद्देश्यले उक्त विदेशी संस्थाले बेकरी तथा कुुकिज उत्पादनसम्बन्धी तालीम, सिलाइ–कटाइ र लैंगिक विभेद अन्त्यका लागि नेतृत्व विकासका कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

महिला सशक्तीकरणका लागि कोरियामा स्थापना भएको सो संस्थाले लामो समयसम्म कोरियामा बसेका नेपालीको समन्वयमा एशिया महिला मिलन केन्द्र नेपाल र एकता बहुउद्देश्य सहकारी संस्थासँग सहकार्य गरी चौथो पटक बेकरी तथा कुुकिजको तालिम शुरु गरेको छ । प्रत्येक वर्ष करिब आठ महिनाको समय अवधि लगाएर अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रममा आधारित डुनट, पाउरोटीलगायत बेकरी, विभिन्न कुुकिज बिस्कुट तथा केक बनाउन सिकाइँदै आएको छ ।

एशिया वुमन ब्रिजका प्रमुख जाङ्ग पिल ह्वाले नेपाली महिला वर्गमा उत्पादनको स्रोत र साधनमा पहुँच नपुगेका कारण उनीहरु अनेक हिंसाको सिकार बन्न पुगेकाले उनीहरुलाई आत्मनिर्भर बनाउन केही कार्यक्रममा आर्थिक सहयोग गरिएको बताउनुभयो ।

काठमाडौँ उपत्यका तथा त्यसवरपर क्षेत्रबाट तालिममा १७ महिला अहिले सहभागी भएका छन । तीन महिना आधारभूत शिक्षा, तीन महिना आधुनिक शिक्षा, एक महिना महिलालाई उद्यमशील बनाउने कक्षा र एक महिना स्थलगत अध्ययनका लागि कुमारीपाटीस्थित डिडी बेकरी क्याफेमा उत्पादन गर्ने सीप विकासका लागि कम्पनीमा अध्ययन गराइने गरिन्छ । डिडी बेकरी क्याफे कोरियामा लामो समय बसेर नेपाल आएका नेपालीले सञ्चालन गरेका हुन् ।

सन् २०१५ मा स्थापना गरिएको एशिया महिला मिलन केन्द्रले अहिलेसम्म ४९ जनालाई यस किसिमको तालीम उपलब्ध गराई केहीलाई रोजगार त केहीलाई लगानी गरी आत्मनिर्भर बनाएको छ । प्रत्येक वर्षको तालीममा उत्कृष्ट तीन जनालाई सोही व्यवसाय सञ्चालनका लागि करिब रु नौ लाख निःशुल्क लगानीसमेत गरिदिएको छ ।

यस पटकको तालीममा उत्कृष्ट हुने गुल्मीकी गुराँस थापालाई रु साढे तीन लाख, काठमाडौँकी पुष्पा तामाङलाई रु साढे दुई लाख र ललितपुरकी अर्चना कार्कीलाई रु साढे दुई लाख उपलब्ध गराउने निर्णय गरिएको एशिया महिला मिलन केन्द्रका प्रतिनिधि किम इयुन योंगले जानकारी दिनुभयो ।

महिलामाथि हुने लैंगिक विभेदको अन्त्यका लागि मुलुकको कानुनी अवस्था, महिला सहभागितालगायत विषयमा सहभागी महिलालाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षणमा वरिष्ठ पत्रकार रुपा शर्मा, आर्थिक सशक्तीकरणका विषयमा सीता अर्याल, बजार व्यवस्थापनका विषयमा समर थापा र हेमन्त थापा मगरले कक्षा लिनुभएको थियो । आगामी मंसिरमा सम्पन्न हुने कक्षामा सहभागी केही विद्यार्थीले उक्त कार्यक्रमले आफ्नो आत्मविश्वास बढाएको प्रतिक्रिया दिनुभएको थियो ।

म्हिला वर्ग रोजगारीमा आबद्ध भई आत्मनिर्भर भएमा त्यसको सकारात्मक असर घर–परिवार समाज हुँदै देशमा चौतर्फी प्रभाव पर्ने विचार प्रशिक्षक पत्रकार शर्माले व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts