काठमाडौँ । निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवारबाट भइरहेको प्रचारप्रसार अवस्थाको आज स्थलगत अनुगमन गर्नुभएको छ ।
आयुक्त शाहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानुभई त्यहाँको निर्वाचनको तयारी, निर्वाचन व्यवस्थापन र समग्र सुरक्षा अवस्थाबारे जानकारी लिनुभयो ।
सो अवसरमा उहाँले निर्वाचन आचारसंहिताको पालना कडाइका साथ गराउन, आचारसंहिता विपरीतका प्रसार सामग्री हटाउन लगाउन र हटाउन तथा मतदाताले भयरहित वातावरणमा मतदान गर्ने वातावरण सिर्जना गर्न निर्देशन दिनुभयो ।
अनुगमनका क्रममा निर्वाचन आयुक्त शाहको सहभागितामा भक्तपुरको दूधपाटी, दरबार स्क्वायर क्षेत्र, क्वाछेँ, तौमडी, सुुकुल ढोका लगायतका क्षेत्रमा निर्वाचन आचारसंहिता विपरीत अस्वाभाविकरुपले सडकमाथि वारपार टाँगिएका विभिन्न पार्टीका चुनाव चिह्न, उम्मेदवारको तस्बीर, झण्डा अङ्कित तोरणका रुपमा राखिएका प्रचारप्रसारका सामग्री हटाइयो ।
त्यस अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त शाहले आचारसंहिता विपरीत त्यस किसिमका प्रचारप्रसारका सामग्री प्रदर्शनले मतदातालाई अलमल तुल्याउने भएकाले त्यस्ता सामग्रीलाई तत्काल हटाउन स्थानीय प्रहरी÷प्रशासनलाई निर्देशन पनि दिनुभभयो ।
उहाँले भन्नुभयो, “मतदाता कुनै पनि किसिमले प्रभावित हुनु हुँदैन, सडक, शहर र चोकमा भएको भद्दा प्रदर्शनले नगरलाई कुरूप बनाउने काम भएको छ, निकै धेरै मात्रामा प्रसार सामग्री टाँगिएको र प्रदर्शन भएको पाइयो, यो आचारसंहिता विपरीतको कार्य हो ।”
धेरै प्रचारप्रसारले मात्रै मतदाता आकर्षित हुन्छन् भन्ने सोच गलत हो भन्दै आयुक्त शाहले मतदाताले आफ्नो अमूल्य मत दिन स्वतन्त्र र स्वविवेकले पाउनुपर्छ भन्ने आयोगको धारणा हो भन्नुभयो ।
निर्वाचन आचारसंहिता विपरीत मतदातालाई अलमल्याउने ढङ्गबाट निर्वाचन प्रचारप्रसार भइरहेको भन्दै आयोगमा सिकायत आएपछि आयुक्त शाहको नेतृत्वमा रहेको आयोगको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको हो ।
निर्वाचन आचारसंहिताले आचारसंहिता विपरीतका झण्डा, तुल, ब्यानर, सडक लगायतका सार्वजनिक स्थानमा टाँग्न निषेध गरेको छ ।
अनुगमनका क्रममा अन्य दलको तुलनामा नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका तर्फबाट सडक नै ढाक्ने गरी पार्टीका झण्डा, निर्वाचन चिह्नको तोरण बनाएर सडकको वारपार टाँगिएको पाइयो । टोलीले आचारसंहिता विपरीतका त्यस्ता सामग्रीलाई सांकेतिकरुपमा हटाएको छ ।
अनुगमन टोलीमा सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिना, भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत भोजराज शर्मा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्लाका प्रहरी प्रमुख किरण राना, निर्वाचन आयोगबाट भक्तपुरका लागि खटिनुभएका केन्द्रीय अनुगमनकर्ता पद्मप्रसाद पाण्डे, निर्वाचन अधिकृत उत्तम सिलवाल, जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईलगायत सहभागी हुनुुहुन्थ्यो ।
No comments:
Post a Comment