Wednesday, December 6, 2017

उम्मेदवारद्वारा पत्रकार पासवानलाई धम्की

राजविराज।  समाचार लेखेको विषयलाई लिएर सप्तरीका एकजना उम्मेदवारले पत्रकारलाई धम्की दिएको पीडित पत्रकारले जनाएका छन् ।

वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार सत्यनारायण मण्डलले स्थानीय पत्रकार राजकुमार पासवानलाई फोन गरी धम्की दिएको पीडित पत्रकार पासवानले राससलाई बताउनुभएको छ ।

सप्तरीको कञ्चनपुरबाट प्रकाशित हुने कञ्चनरुप साप्ताहिक पत्रिकामा समाचार लेखेको विषयलाई लिएर मण्डलले आफूलाई फोनमार्फत धम्की दिएको पत्रकार पासवानको आरोप छ ।

एमालेका स्थायी समिति सदस्य एवं २ नम्बर प्रदेश संयोजकसमेत रहेका मण्डलले पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर चुनावलगत्तै ठीक पारिदिने भन्दै धम्की दिनुभयो’, पासवानले भन्नुभयो, “आफूले मण्डलसहित जिल्लाका सबै उम्मेदवारको विश्लेषण गरी समाचार लेखेकै कारण उहाँले धम्की दिनुभएको छ ।”

मण्डलले कञ्चनरुप साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर आफ्नै पार्टीका बागी उम्मेदवार प्रकाश खतिवडाको प्रभावमा परेर समाचार लेखेको आरोप लगाउँदै धम्की दिएको पासवानको भनाइ छ ।

यद्यपि आफू कसैको प्रभावमा नपरी स्वच्छ तरिकाले समाचार लेखेको उहाँले भन्नुभयो ।

यसैबीच, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष जीतेन्द्र खड्गाले पत्रकार पासवानलाई समाचार लेखेको विषयमा धम्काउने र मानसिकरुपमा त्रास फैलाउने उम्मेदवार मण्डलको गलत कार्य भएको बताउनुभएको छ ।

पत्रकार पासवानले धम्कीको विषयमा महासंघ सभापति खड्गालाई जानकारी गराएको बताउँदै सभापति खड्गाले कानूनी प्रावधान हुँदाहुँदै पनि उम्मेदवार मण्डलले धम्काउने विषय अत्यन्त निन्दनीय भएको राससलाई बताउनुभयो ।

यस सम्बन्धमा उम्मेदवार मण्डलसँग राससले सम्पर्क गर्दा टेलिफोन सम्पर्क हुन सकेन ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts