Saturday, December 30, 2017

निर्वाचनमा खटिने उत्कृष्ट कर्मचारी सम्मानित

गाईघाट, उदयपुर।  गत मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा खटिने उदयपुर जिल्लाका तीन उत्कृष्ट कर्मचारीलाई शनिबार सम्मान गरिएको छ ।

निर्वाचनको समयमा उत्कृष्ट कार्य गरेर सम्मानित हुनेमा उदयपुरको बेलका नगरपालिकास्थित कमलबारी मावि मतदान केन्द्रका मतदान अधिकृत दुर्गानन्द गुप्ता, बालमन्दिर मावि गाईघाट बोक्से केन्द्रमा खटिने मतदान अधिकृत निर्मला कार्की र नारद आदर्श उच्च मावि बसाहा मतदान केन्द्रमा खटिने मतदान अधिकृत ताराकुमार राई रहेका छन् ।

यसरी उत्कृष्ट हुने तीन कर्मचारीलाई उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा र उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश रामप्रसाद ओलीले सम्मानपत्रसहित दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

यस्तै निर्वाचनको समयमा शान्तिसुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेबापत प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, नेपाली सेना सार्दुल गण बोक्सेका प्रमुख राजेन्द्र पन्त, उदयपुरका प्रहरी प्रमुख नवराज भट्ट, त्रियुगा सशस्त्र प्रहरी गुल्मका प्रमुख पुरनचन्द भट्ट, राष्ट्रिय अनुसन्धान विभाग उदयपुरका प्रमुख तीलक शर्मा प्रसाईं र जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतलाई पनि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश ओलीले दोसल्ला ओढाइ सम्मान गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्रियुगा नगरलाई पूर्ण खोपयुक्त सुनिश्चित नगर घोषणा

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकालाई शनिबार एक औपचारिक कार्यक्रमबीच पूर्ण खोपयुक्त सुनिश्चित नगर घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति उदयपुरका उपाध्यक्ष गंगाकुमारी राईले त्रियुगा नगरलाई खोपयुक्त सुनिश्चित नगर घोषणा गर्नुभएको त्रियुगा नगरपालिका गाईघाटले बताएको छ ।

यसपटक त्रियुगा नगरपालिकामा रहेका एक हजार ९५२ जना सबै बालबालिकालाई पूर्णरुपमा खोप लगाइएका कारण अहिले नगरलाई पूर्ण खोपयुक्त सुनिश्चित नगर घोषणा गरिएको जिल्ला जनस्वास्थय कार्यालय उदयपुरका लेखा अधिकृत दुनियालाल यादवले बताउनुभयो ।

नगरका सम्पूर्ण बालबालिकामा यसपटक पूर्णरुपमा खोप सम्पन्न भएका कारण अब नगर पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको त्रियुगा नगरपालिकाका उपप्रमुख देविकुमारी चौधरीले बताउनुभयो ।

त्रियुगा नगरपालिकामा हाल ८४ हजार ७५६ जनसंख्या रहेका छन् भने ६४ हजार ४०० मतदाता संख्या रहेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts