Monday, December 25, 2017

अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्छ : नेता नेपाल

काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेश गर्न निर्वाचन आयोगसंग आग्रह गर्नुभएको छ ।

संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आज थलीमा आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न आयोगले विलम्ब गर्न नहुनेमा जोड दिंदै उहाँले संक्रमणकालको अन्त्य गर्न चाँडो नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

पूर्व प्रधानमन्त्री नेपाले प्रत्यक्षतर्फको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा राष्ट्रियसभा गठनको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको आरोप लगाउनुभयो ।

संविधानमा उल्लेख नै नभएको एकल संक्रमणीय प्रणालीलाई स्वीकार गर्न नसकिने बताउँदै उहाँले राष्ट्रियसभा बहुमतीय प्रणालीमा नै गठन गर्नुपर्नेमा जोड दिनुभयो ।

दुनियाँको जुनसुकै शक्ति लागे पनि एमाले र माओवादी केन्द्रबीचको एकता नरोकिने चर्चा गर्दै नेता नेपालले एउटै कम्युनिष्ट केन्द्रले मुलुकको विकास गर्ने भएकाले दुवै पार्टीका कार्यकर्तालाई बहकाउ र भ्रममा नपर्न आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts