Saturday, December 30, 2017

सामग्री आएको चार वर्षमा पनि निर्माण भएन झोलुंगे पुल

लहान । निर्माण सामग्री ल्याइएको चार वर्ष बितिसक्दा पनि सिरहाको गोलबजार नगरपालिका–११ बलकवा र बेतौना जोड्ने मैनाबत्ती खोलामा झोलुंगे पुलको निर्माण कार्य शुरु हुन सकेको छैन ।

पुल निर्माण उपभोक्ता समितिको लापर्बाही र ढिलासुस्तीका कारण झोलुंगे पुलको निर्माण कार्य शुरु हुन नसकेको जिल्ला प्राविधिक कार्यालय सिरहाले जनाएको छ ।

पुल निर्माण कार्यमा ढिलाइ हुँदा करोडौँ मूल्य बराबरको निर्माण सामग्रीमा खिया लाग्न थालेको र चोरीसमेत हुन थालेको स्थानीयले बताएका छन् । फलामका निर्माण सामग्री खुला आकाशमुनि नै जथाभावी राखिएको हुँदा घाम पानीले कामै नलाग्ने अवस्थामा पुगेको बताइएको छ ।

पुल निर्माण सामग्री बेवारिस अवस्थामा राखिएका कारण कतिपय नट बोल्ट हराएर गएको निर्माण समितिले जनाएको छ । स्थानीयको मागअनुसार आव २०७०÷०७१ मा पुल निर्माण उपभोक्त समिति गठन गरी पुल निर्माण सामग्री खरिद गरिए पनि चार आव बित्न लाग्दासमेत पुल निर्माणको काम शुरु हुन नसकेको स्थानीयले बताएका छन् ।

पुल निर्माण नहुँदा वर्षायाममा सर्वसाधारणलाई हिँडडुल गर्न समस्या हुनुका साथै बेतौनाका विद्यार्थीलाई खोला तरेर आउन समस्या हुने गरेको बेतौनाका ५५ वर्षीय रामप्रसाद मोचीले बताउनुभयो ।

उहाँले भन्नुभयो– “बेतौनामा मावि स्कुल छैन, यताका विद्यार्थी सबै बलकावा माविमा पढ्न जाने हो, तर वर्षामा पुल नबन्दा विद्यार्थीहरु विद्यालय जानै पाउँदैन् ।”

जिल्ला समन्वय समिति सिरहाका ओभरसियर गंगाप्रसाद यादवले स्थानीय उपभोक्ता समितिलाई पटकपटक ताकेता गर्दा पनि जिल्लामा सम्पर्क गर्न समेत नआएका कारण निर्माण कार्य हुन नसकेको बताउनुभयो ।

उहाँले निर्माण समितिका अध्यक्ष र अन्य पदाधिकारीलाई पनि पटकपटक जिल्लामा सम्पर्क गरी निर्माण कार्य अगाडि बढाउन आग्रह गरे पनि चाँसो नदिएकाले काम अगाडि बढ्न नसकेको जानकारी दिनुभयो ।

मैनाबत्ती खोला झोलुंगे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामदेव यादवले जिल्ला प्राविधिक कार्यालय सिरहाले निर्माण सामग्री पठाए पनि निर्माणका लागि आवश्यक थप रकम नदिएकाले काम शुरु गर्न नसकिएको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts