Saturday, December 9, 2017

कास्की २ (क)मा एमालेका थापा विजयी

पोखरा- कास्की क्षेत्र नं २ को प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापा १५ हजार ३२९ मतसहित विजयी बन्नुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गुरुप्रसाद बरालले आठ हजार ३२५ मत प्राप्त गर्नुभयो । विजयी भएपछि थापाले चुनावका दौरानमा आफूले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न आफूले सक्दो भूमिका निर्वाह गर्ने बताउनुभयो ।

काठमाडौँ–६ मा काँग्रेसका प्रधान विजयी

काठमाडौँ- काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका भीमसेनदास प्रधान विजयी हुनुभएको छ ।

रक्षामन्त्रीसमेत रहनुभएका प्रधान १६ हजार ७८५ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनुभयो । प्रधानले वाम गठबन्धनका झक्कु सुवेदीलाई एक हजार ३०० मतान्तरले विजयी हुनुभएको हो ।

सुवेदीले १५ हजार ४८५ मत प्राप्त गर्नुभयो । तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले चार हजार २२५ मत पाउनुभएको छ ।

यो क्षेत्रमा कूल ५८ हजार १८६ मतदाता रहेकामा ४२ हजार ३९९ अर्थात् ७२.८६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । यसमध्ये ३९ हजार २६८ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणनाको तयारी भइरहेको छ ।

क्षेत्र नं १ को प्रदेश (क) मा काँग्रेस विजयी 

यसैगरी, काठमाडौँ क्षेत्र नं १ को प्रदेशसभा (क) मा नेपाली काँग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ ।

श्रेष्ठले छ हजार २३१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनकी विष्णुकुमारी भुसालले चार हजार ६१८ मत ल्याउनुभएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले बताउनुभयो ।

तेस्रो स्थानमा रहेको विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले चार हजार ३४३ मत पाउनुभयो ।

क्षेत्र नं १ को प्रदेश (ख) मा वाम गठबन्धन विजयी 

प्रदेश (ख) मा भने वाम गठबन्धनका गणेशप्रसाद दुलाल विजयी हुनुभयो । उहाँले चार हजार २४२ मत प्राप्त गर्नुभयो । उहाँ एमाले उम्मेदवार हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरजचन्द्र लामिछानेले चार हजार २२३ मत पाउनुभयो । तेस्रो स्थानमा रहेको विवेकशील साझा पार्टीका पुरुषोत्तमप्रसाद ढकालले दुई हजार ७२५ मत ल्याउनुभयो ।

क्षेत्र नं ४ को प्रदेश (क) मा काँग्रेस विजयी 

काठमाडौँ क्षेत्र नं ४ को प्रदेशसभा (क) मा पनि काँग्रेसका पुराना नेता नरोत्तम वैद्य विजयी हुनुभएको छ । वैद्यले आठ हजार ७१९ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका निर्मल कुइँकेलले सात हजार ७९४ मत प्राप्त गर्नुभयो ।

कुइँकेल दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं ४ मा काँग्रेस नेता गगनकुमार थापाबाट पराजित हुनुभएको थियो । यो प्रदेशसभामा तेस्रो स्थान विवेकशील साझा पार्टी नै भयो । विवेकशीलका दिपेश श्रेष्ठ वैद्यले तीन हजार ५१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रदेशसभा (ख) को भने मतगणना भइरहेको उहाँले बताउनुभयो ।

खोटाङमा एमालेका भट्टराई विजयी

खोटाङ-प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का विशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सरस्वती बजिमयले २१ हजार ६१२ मत प्राप्त गर्नुभयो । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र नं २ बाट निर्वाचित सांसद्समेत रहनुभएका भट्टराई एमाले बैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ ।

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २०२५ चैत २२ गते जन्मनुभएका भट्टराईले २०३८ सालमा अनेरास्ववियु पाँचौँबाट राजनीति शुरु गर्नुभएको थियो । २०३९ सालमा सोही विद्यालयमा स्ववियु सदस्य निर्वाचित हुनुभएका भट्टराईले काठमाडौँको रत्नराज्य क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts