Wednesday, December 27, 2017

परम्परागत शैलीका निर्माण बलियो हुन्छ : पुरातत्व विभाग

काठमाडौँ। पुरातत्व विभागले कंक्रिटबाट निर्माण गरिएको पुरातात्विक वस्तुभन्दा परम्परागत सामग्रीबाट निर्माण भएको मठ, मन्दिर तथा भवन बढी टिकाउ र बलियो हुने जनाएको छ ।

कंक्रिटबाट भवन निर्माण गर्ने प्रचलन विश्वव्यापी भएसँगै त्यसको असरका रुपमा नेपालमा पनि कंक्रिट अथवा ढलान गरेर भवनमात्र नभई भूकम्पबाट क्षतिग्रस्त मठ, मन्दिर तथा पुरातात्विक वस्तुको निर्माण गर्ने होड बढ्दै गएको बेला पुरातत्व विभागको उक्त धारणा बाहिर आएको हो ।

रासससँग कुरा गर्दै पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले परम्परागत शैलीबाट निर्माण भएका मन्दिर, पाटी, पौवा, बौद्ध विहार ४०० वर्षदेखि जीवित धरोहरका रुपमा रहेको देख्न सकिने प्रष्ट पार्नुभयो ।

उहाँले परम्परागत शैली तथा सामग्री प्रयोग गरी निर्माण भएका त्यस्ता मन्दिर तथा सत्तल नेपालमा बारम्बार गइरहेको शक्तिशाली भूकम्पबाट पनि केही नभएका थुप्रै उदाहरण रहेको बताउनुभयो । कुँवरले थप्नुभयो, “कंक्रिटबाट बनेको भवन पनि धेरै भत्केको हाम्रो आँखासामू धेरै उदाहरण छ ।”

परम्परागत सामग्री तथा शैली प्रयोग गरेर हाम्रा पुर्खाले छाडेर गएको अमूल्य सम्पदालाई मौलिकता नबिग्रने गरी संरक्षण गर्ने नीति विभागले लिएको उहाँले प्रष्ट पार्नुभयो ।

परम्परागत सामग्री तथा कामदार पाइन्छ कि पाइँदैन भनी जिज्ञासा राख्दा कुँवरले बज्र, इँटा, माटो, काठका सामग्री प्रशस्त पाइने तथा पुरानो बुट्टादार झ्याल, ढोका, खापा आदि प्रयोग गर्न सकिने भएकाले कुनै समस्या नभएको उहाँले जानकारी दिनुभयो ।

विसं २०७२ को भूकम्पबाट अधिराज्यभरका कूल ८०० पुरातात्त्तिवक महत्वको सम्पदामा क्षति पुगेको थियो । जसअनुसार १५० वटा सम्पदामा पूर्ण क्षति तथा बाँकीमा सामान्य क्षति भएको विभागको भनाइ छ ।

सो विभागका अनुसार ती सबै सम्पदा पुनःनिर्माण कार्य सम्पन्न गर्न छ वर्ष लाग्ने अनुमान छ । तीमध्ये हालसम्म ६५ वटा मन्दिर तथा विहार पुनःनिर्माण गर्ने कार्य सम्पन्न भइसकेको छ भने १५० भन्दा बढी सम्पदाको जीर्णोद्धार कार्य जारी रहेको छ ।

चाँगुनारायण, किलेश्वर महादेव, भक्तपुरको नारायण मन्दिर, खमगेट, बद्रीनाथको जीर्णोद्धार कार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै ललितपुरको योगनरेन्द्र मल्लको स्तम्भ, तलेजु मन्दिर, आगछेँ, काठमाडौँको हनुमान ढोकाको देगु तलेजु, आगछेँ पनि निर्माण कार्य सम्पन्न भइसकेको छ ।

विभागका अनुसार स्वयम्भू महाचैत्यमा रहेको अनन्तपुर र प्रतापपुर, तासी गुम्बा, शान्तिपुर पनि निर्माण कार्य सम्पन्न भइसकेको छ । शान्तिपुरको निर्माण कार्य युनेस्कोको आर्थिक सहयोगमा जीर्णोद्धार भएको हो ।

त्यस्तै बौद्धनाथ, कीर्तिपुरका विभिन्न मन्दिर तथा सत्तल, गोरखाको गोरखनाथ तथा पण्डित पाटी पनि जीर्णोद्धार सम्पन्न भइसकेको छ । गोरखा दरबारको भने जीर्णोद्धार जारी रहेको बताइएको छ ।

प्रवक्ता कुँवरका अनुसार ललितपुरमा रहेको रातो मच्छिन्द्रनाथको बुंगमतीस्थित मन्दिर तथा काठमाडौँको गद्दी बैठकको जीर्णोद्धार कार्य जारी रहेको र यो दुई वर्षमा पूरा हुने लक्ष्य रहेको छ । बुंगमतीमा हाल जगको काम सम्पन्न भइसकेको छ ।

त्यस्तै भक्तपुरको बसल्ला देवी, फसी देगः, सिद्धिलक्ष्मी, हरिहर सत्तलमा जीर्णोद्धार कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता कुँवरले काष्ठमण्डपको जीर्णोद्धार कार्य विवादका कारण हालसम्म शुरु हुन नसकेको, तर पनि यसको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाले गर्ने भन्ने कुरा भइरहेको जानकारी दिनुभयो । यसका लागि विभागले नक्सा ड्रइङ गरी नगरपालिकालाई पठाइसकेको छ ।

रानीपोखरीमा भइरहेको विवादमा जिज्ञासा राख्दा उहाँले पुरातत्व विभागले कंक्रिट प्रयोग गरी रानीपोखरी जीर्णोद्धार गर्न काठमाडौँ महानगरपालिकालाई स्वीकृति नदिइएको स्पष्ट पार्नुभयो ।

उहाँले नुवाकोट, दोलखा, काभ्रे, सिन्धुपाल्चोकका विभिन्न मन्दिर तथा पाटीपौवाको जीर्णोद्धार भइरहेको जानकारी दिनुभयो । प्रवक्ता कुँवरले काठमाडौँका नेवार समुदाय विशेषगरी लिच्छवी तथा मल्लकालमा विकास भएका सांस्कृतिक सम्पदा नै नेपालीको पहिचान हो भन्दै पुर्खाको यो महत्वपूर्ण सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts