Wednesday, October 28, 2015

एनओसी र पेट्रो चाइनाबीच इन्धन कारोबार गर्ने सम्झौता

काठमाडौँ, ११ कात्तिक । चीनसँग दीर्घकालीनरुपमा पेट्रोलियम पदार्थ आयात गर्न सरकारको स्वामित्व रहेको नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको पेट्रो चाइनाबीच आज बेइजिङमा सम्झौता भएको छ ।

यो सम्झौतासँगै नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशन(आइओसी)बीचको पेट्रोलियम पदार्थको एकाधिकार व्यापार तोडिएको छ भने चीनबाट इन्धन आयातको बाटो खुलेको छ ।

“आयल निगम र पेट्रो चाइनाबीच इन्धन आयात गर्ने सम्झौंता भएको छ” चीनका लागि नेपाली राजदूत महेश मास्केले रासससँग भन्नुभयो,“यो सम्झौंतापछि चीनबाट दीर्घकालिन रुपमा आयात गर्ने बाटो खुलेको हो ।”

दुई देशका व्यापारीक निकायबीच भएको सम्झौतामा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र पेट्रो चाइनका कार्यकारी प्रमुखबीच हस्ताक्षर भएको राजदूत मास्केले जानकारी दिनुभयो ।

सम्झौता गर्नु अगाडिको छलफलमा दुई देशबीचको नाकालाई प्रभावकारी बनाउने र सडकलाई चौडा गर्ने विषयमा पनि छलफल भएको त्यस विषयमा चिनीया पक्ष सकारात्मक रहेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा जारी सङ्कट समाधानका लागि चिनीया पक्षसँग नेपाल सरकारले हवाई मार्गबाट भएपनि इन्धन उपलब्ध गराउन आग्रह गरेको थियो । छलफलमा नेपाली पक्षले चिनीया पक्षलाई अन्तर्राष्ट्रिय बजार मूल्यमा नेपालमा इन्धन पठाउन आग्रह समेत गरेको थियो ।

जवाफमा चिनीया पक्षले नेपाली पक्षको आवश्यकता अनुसार इन्धन उपलब्ध गराउन तयार रहेको र त्यसका लागि विभिन्न तहमा तयार गर्नुपर्ने पूर्वाधार तथा प्राविधिक संरचना बनाउँदै लैजाने आश्वासन दिएको थियो ।

सम्झौतामा नेपालमा आवश्यक पर्ने कुल आयातको एक तिहाई इन्धन चीनबाटै आयात गर्ने प्रतिवद्धता गरिएको छ भने दीर्घकालिनरुपमा इन्धनमा देखिदै आएको समस्याको विकल्पको रुपमा यस सम्झौतालाई लिइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts