Wednesday, October 28, 2015

इतिहास रच्ने राष्ट्रपति निर्वाचनमा जे देखियो

काठमाडौँ, ११ कात्तिक । राष्ट्रपति निर्वाचन हुनुभन्दा अगाडि नै विजय निश्चित भएकाले होला विद्यादेवी भण्डारीको अनुहारमा चमक देखिएको थियो ।

सत्तारुढ दलको समर्थन प्राप्त भएकाले उहाँको विजय सुनिश्चित भएकाले निर्वाचन हुनुअगावै उहाँलाई अग्रिम बधाईको क्रम चल्नु पनि अस्वभाविक थिएन ।

आज बिहान संसदमा प्रधानमन्त्री केपी ओलीसहित सत्तारुढ दलका शीर्ष नेता र सांसदको बैठकमा राष्ट्रपतिको उम्मेदवारका हैसियतमा सहभागी भण्डारी मौन मुस्कानका साथ प्रस्तुत हुनुभएको थियो । बैठक सकिएपछि सांसद, शुभेच्छुक र कार्यकर्ता तथा पत्रकारले घेर्दै अग्रिम बधाई दिने क्रम चलिरहँदा ‘जितेपछि भेट्न मुस्किल हुन्छ, अहिले नै तस्बिर खिचाउनुप¥यो’ भन्नेहरू कम थिएनन् ।

दिउँसो मतदान भइसकेपछि पनि पत्रकारले ‘पछि भेट्न गाह्रो होला अहिले प्रतिक्रिया दिनुप¥यो’ भन्दा सहजताका साथ उहाँले मुलुकको हितलाई सर्वाेपरिमा राख्ने र संविधान पालनामा अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । नेकपा (एमाले) का उपाध्यक्ष रहनुभएका नेत्री भण्डारी आजसम्म प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपछिको चौथौ वरियतामा हुनुहुन्थ्यो भने अब राष्ट्रकै पहिलो वरियतामा पुग्नुभएको छ ।

गणतन्त्र नेपालको दोस्रो र इतिहासमा पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएपछि विद्यादेवी भण्डारीलाई सत्तारुढ नेताका साथै प्रतिपक्षी नेताका तर्फबाट थप बधाईको ओइरो लाग्यो । सभामुख ओनसरी घर्तीले भण्डारीको विजय घोषणा गर्दा बैठकमा सहभागी भण्डारीले पनि आफ्नो विजयमा टेबुल ठोकेर ताली बजाउनु भएकोे थियो । सो दृष्यलाई सञ्चारमाध्यमले महत्व दिएका थिए । बैठकलाई सबैजसो टेलिभिजन र रेडियोले प्रत्यक्ष प्रसारण गरेका थिए ।

सँगै प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता नेपाली काँग्रेसका सभापति सुशील कोइराला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र भण्डारीका प्रतिस्पर्धी कूलबहादुर गुरुङ र अन्य नेता तथा सांसदले बधाई दिनुभयो । एकढिक्का भएर सरकार समर्थित दललाई प्रस्तुत गराएका अध्यक्ष दाहाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापालाई पनि सांसदले खादा ओढाएर बधाई तथा सम्मान दिएका थिए ।

विजयीको घोषणा र बधाईपछि भण्डारीलाई सभामुख घर्ती र सचिवालयका कर्मचारीले औपचारिक बधाई दिनुभएको थियो । मत परिणाम घोषणाका क्रममा सभामुख घर्तीले ३२७ भन्नुपर्नेमा २२७ भन्दा एकछिन अन्योल देखिए पनि सभामुखले तत्काल गल्ती सुधार गर्नुभएको थियो ।

सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै उहाँले नयाँ संविधानको कार्यान्वयन गर्दै मुलुकसामु तेर्सिएका समस्याको मिलेर समाधान गर्नुपर्नेेमा जोड दिँदा समर्थकले ताली बजाएका थिए भने प्रधानमन्त्री ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल छेउमै बसेर मुस्कुराइरहनुभएको थियो ।

“मुलुकको हित नै मेरो सर्वाेपरि हित हो । मुलुक र जनताप्रतिको जिम्मेवारी पूरा गर्नेछु ।” भनी भण्डारीले छोटो अभिव्यक्ति दिएर ‘धन्यवाद’ भनेपछि सुरक्षा घेराका बीच कारकेडमा भण्डारी आफ्नो निवास काठमाडौँ महानगरपालिका–१० बानेश्वरतर्फ प्रस्थान गर्नुभयो । भण्डारी अध्यक्ष रहनुभएको अखिल नेपाल महिला सङ्घलगायत महिला अधिकारका संस्थाहरु महिला राष्ट्रपति भएकामा थप खुसी र उत्साह छाएको प्रमाणका लागि साँझ उहाँको निवासमा देखिएको महिलाको भीड नै काफी रह्यो ।
आठ मत बदर
राष्ट्रपतिको निर्वाचनमा आठ मत बदर भएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयका अनुसार दुई ठाउँमा रेजा चिह्न लगाइएको तथा दुवै उम्मेदवारमा मतदान गर्ने सांसदको हस्ताक्षर भएको थियो ।

दुई मत खाली खसेको थियो । बदरमध्ये दुई मत उम्मेदवार विद्यादेवी भण्डारी र दुई मत अर्का उम्मेदवार कूलबहादुर गुरुङको बदर भएको थियो । दुई मतमा दुवै उम्मेदवारमा मत परेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts