नगरकोट, ११ कात्तिक । दसैँ बिदालगत्तै भक्तपुरका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन् ।
काठमाडौँमा भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव भएको भन्दै तिहारसम्म बिदा दिइए पनि यहाँका विद्यालय निर्वाधरुपमा सञ्चालनमा आएका हुन् ।
प्याब्सन भक्तपुरका अध्यक्ष राजकुमार महर्जनले पेट्रोलियम पदार्थको अभाव भए पनि रुट छोट्याएर स्कुल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
टाढाका अभिभावकलाई अनुरोध गरेर विद्यार्थीलाई स्कुलसम्म ल्याउने व्यवस्था गरिएको उहाँको भनाइ थियो ।
उहाँले भूकम्पले गर्दा कोर्ष धेरै बाँकी भएकाले अहिले स्कुल बन्द गर्न सकिने अवस्था नभएको बताउनुभयो ।
त्यस्तै एनप्याब्सन भक्तपुरका अध्यक्ष जीवी खड्काले पेट्रोलियम पदार्थको अभाव खेप्नुपरे पनि तत्काललाई विद्यालय बन्द नगर्ने सहमतिअनुसार भक्तपुरका सबै निजी विद्यालय सञ्चालनमा आएको बताउनुभयो ।
पहिलेजस्तो सबै ठाउँमा गाडी पु¥याउन नसकिए पनि सम्भव भएसम्म विद्यार्थी ल्याएर पढाइ सञ्चालन गरिएको उहाँको भनाइ छ ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का महासचिव पुरुषोत्तम ग्वाछाका अनुसार अहिले विद्यालय छुटेका विद्यार्थीका लागि स्कुलले थप कक्षा तथा कोचिङको व्यवस्था गर्ने भएका छन् ।
उहाँले बालबालिकालाई पढ्ने अधिकारबाट वञ्चित हुन नदिन स्कुल बसलाई इन्धन उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालयलगायतमा ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
भक्तपुरमा करिब २०० वटा स्कुल बस सञ्चालनमा छन् । रुट छोट्याएपछि ग्रामीण क्षेत्रका विद्यार्थीलाई भने हिँडेरै स्कुल पुग्नुपर्ने बाध्यता परेको छ । ठूला विद्यार्थीलाई समस्या नभए पनि साना बालबालिकालाई सकस भएको अभिभावकले गुनासो गरेका छन् ।
उनीहरुले साना बालबालिकाको लागि भए पनि सबै ठाउँमा गाडी पुग्ने व्यवस्था गर्न सम्बन्धित विद्यालयको ध्यानाकर्षण गरेका छन् । रासस
No comments:
Post a Comment