Thursday, October 29, 2015

किसानको आलु खेतमै कुहिँदै

नगरकोट, १२ कात्तिक । भारतको अघोषित नाकाबन्दीका कारण आलु लिन व्यापारी नआउँदा भक्तपुरको नगरकोट नगरपालिका–७ स्थित सुडालका किसानको आलु खेतमै कुहिने अवस्थामा पुगेको छ ।

दसैँअघि नै खन्नुपर्ने आलु अहिलेसम्म खेतमै भएपछि किसान कुहिने चिन्तामा परेका हुन् । “बेमौसमी आलु ६० दिनभित्र खन्नुपर्छ”, स्थानीय किसान रामहरि सुवेदीले भन्नुभयो– “तर अहिले ७० दिन नाघिसक्यो आलु खन्न सकिएको छैन ।”

उहाँका अनुसार ६० दिनपछि खन्दा रातो कमिलाले आलु बिगार्छ । त्यस्तै बढी समय घर्के आलु फुटेर कुहिने हुन्छ । भारतीय नाकाबन्दीको कारण पेट्रोलियम पदार्थको अभावले गर्दा व्यापारी खेतसम्म पुग्न नसक्दा आलु खन्न कुनै पनि किसान तयार नभएको उहाँको भनाइ छ ।

भूकम्पले घर भत्काएकाले आलु खने पनि धेरै किसानसँग आलु राख्ने ठाउँ छैन । फेरी अघिल्ला वर्षमा व्यापारीले खेतबाटै सबै आलु उठाउने भएकाले किसानले घरमा आलु लैजान नचाहेको अर्का किसान विदुर सुवेदी बताउनुहुन्छ ।

“गत वर्ष दसैंँअघि नै आलु बेचेर चापर्व मनाएका थियौँ”, उहाँले भन्नुभयो– “यस वर्ष त तिहारलाई पनि आलु बेच्न पाइएला जस्तो छैन ।” उहाँले आलु बेच्न नपाउँदा दसैंँलाई जसोतसो खर्च व्यवस्था गरेको सुनाउनुभयो ।

गत वर्ष प्रतिधार्नी रु १२० सम्ममा आलु बेचेका किसान यस वर्ष आलुको भाउ नै नआउने हो कि भन्ने चिन्तामा छन् । यहाँका किसान कहिले तराईको आन्दोलन रोकिएला र आलु बेच्न पाइला भन्ने प्रतिक्षामा छन् ।

वर्षको एकपटक बेमौसमी खेती गरी वर्ष दिनलाई पुग्ने रकम जोहो गर्नुपर्ने यहाँका किसान यस वर्ष आलु खेतीले डुबाउने हो कि भन्ने चिन्तामा पर्न थालेका छन् । आलु गोडेपछि सोचे जति वर्षा नभएर उत्पादन कम हुने आशङ्कामा रहेका किसानलाई आलु कहिले खन्ने र कति मूल्य पाउने भन्ने चिन्ताले पिरोलेको अर्की किसान मैयाँ नेपालको भनाइ छ ।

यहाँका किसानले २०५३ सालदेखि मकैभित्र आलु लगाउन सुरु गरेका हुन् । नगरकोट नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ८, ९, १० (साविक सुडाल र वागेश्वरी गाविस) र काभ्रेको टुकुचा गाविसमा बेमौसमी आलु खेती हुँदै आएको छ ।

किसानले बेमौसमी आलुको मुख्य समय दसैंँतिहार र छठलाई मानेका हुन्छन् । तर यस वर्ष पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा आपूmहरुको दसंैँतिहारसमेत खल्लो हुने भएको यहाँका किसानको चिन्ता रहेको छ ।

भूकम्पले भत्काएका घर बनाउन सरकारको सहयोगमा थप आफ्नो लगानी लगाउने सपना बुनेका किसान आलुु बिक्री नहुँदा अन्योलमा परेका छन् । रासस÷

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts