रत्ननगर (चितवन), १२ कात्तिक । चितवनको सौराहामा आँखा उपचार केन्द्र स्थापना भएको छ । अफ्रिका लुज जर्मनी नामको संस्थाको आर्थिक सहयोगमा आँखा केन्द्र स्थापना भएको हो ।
यसकालागि हरियाली समाज नेपाल बछौलीका उपाध्यक्ष शेरबहादुर परियारले जग्गा उपलब्ध गराउनुभएको हो । भरतपुर आँखा अस्पतालमा बिरामीको चाप रहेकाले अस्पतालको शाखाको रुपमा सञ्चालन गरिने सो केन्द्रमा पूर्वी चितवनसहित मकवानपुरका बिरामीहरुलाई पनि सोही केन्द्रमा उपचार गर्ने गरी सम्झौता भएको जनाइएको छ ।
भरतपुर आँखा अस्पतालमा उपचार गर्न जानुपरे केन्द्रको सिफारिसमा निश्चित प्रतिशत छुटको व्यवस्थासमेत गरिएको उपाध्यक्ष परियारले बताउनुभयो । करिब रु एक करोडको लागतमा अस्पताल स्थापना गरिएको समाजका अध्यक्ष वासु ढुङ्गानाले जानकारी दिनुभयो ।
यो अस्पतालमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको समाजका सदस्य शीरलाल परियारले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल स्थापनाको अवसर पारेर यहाँ हिजोदेखि दुईदिने आँखा शिविर सञ्चालन गरिएको छ ।
शिविरमा पहिलो दिन ३४ जनाको आँखाको शल्यक्रिया गरिनुका साथै २२४ बिरामीको आँखाको उपचार भएको सदस्य शीरलाल परियारले जानकारी दिनुभयो ।
हरियाली समाज नेपाल, लायन्स क्लब अफ चितवन, सौराहा, लायन्स क्लब अफ हिमचुली काठमाडौँ, र सौराहा आँखा उपचार केन्द्रको आयोजनामा शिविर सञ्चालन भएको हो । रासस
No comments:
Post a Comment