काठमाडौँ, १२ कात्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाले भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको भीमटार गाविसमा रहेको सेतीदेवी माविको भवन निर्माण गरिदिने भएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराई र सिन्धुपाल्चोक भीमटार–९ का समाजसेवी रामजी माझीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
तीन सय परिवार माझी रहेको सो क्षेत्रमा सेतीदेवी मावि एक मात्र विद्यालय हो । सो विद्यालय मर्मतका लागि आवश्यक खर्च सबै सङ्घले ब्यहोर्ने बताइएको छ । उपाध्यक्ष भट्टराईले सो विद्यालय विपन्न जनतालाई शिक्षा दिने भएकाले आफूहरुले पुनःनिर्माण गर्ने सोच बनाएको बताउनुभयो ।
अत्याधुनिक चुहो
सङ्घले आगोको तापबाट बिजुलीसमेत बाल्न सक्ने अत्याधुनिक चुहो नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।
भारतको अघोषित नाकाबन्दीका कारण एलपी ग्यासको अभावले नेपालीको चुहो बल्न नसक्ने अवस्था उत्पन्न भएको बेलामा नेपालमा इन्धनको सङ्कट समाधान गर्न त्यस्तो चुहो ल्याउन लागिएको हो ।
संयुक्त राज्य अमेरिकाको वैज्ञानिकको अनुसन्धान संस्था नासाले विकास गरेको प्रविधिलाई क्यालिफोर्नियामा अध्ययनरत नेपाली विद्यार्थीले चुहोमा जडान गरेर खाना पकाउने र ऊर्जा उत्पादन गर्ने गरी विकास गरेका हुन् ।
आज यहाँ आयोजित कार्यक्रममा सो चुहो बालेरसमेत देखाइएको थियो । चुहोबाट सात मिनेटमा एक लिटर पानी उमाल्न सकिन्छ । आगोबाट उत्पन्न तापलाई ऊर्जामा रुपान्तरण गरेर बत्ती बाल्ने र मोबाइल चार्जसमेत गर्न सकिन्छ । सो चुहोबाट १३ भोल्ट विद्युत् उत्पादन गर्न सकिने छ ।
थोरै दाउराबाट खाना पकाउने र बिजुलीसमेत बाल्न सकिने चुहो नेपालमै उत्पादन गरेर न्यून मूल्यमा उपलब्ध गराउन सकिने सफ्ट वेयर इन्जिनियर सुनिल राजभण्डारीले बताउनु भयो ।
उहाँले पहिलो चरणमा सङ्घले भूकम्पपीडितका लागि बनाउन लागेको एक हजार घरमा यस्ता चुहो जडान गर्ने योजना रहेको बताउनुभयो । उक्त चुहोको मूल्य प्रतिचुहो १०० अमेरिकी डलर रहेको बताइएको छ । रासस
No comments:
Post a Comment