काठमाडौँ, १३ कात्तिक । काठमाडौँ उपत्यकामा रगतको अभाव भएको छ ।
उपत्यकामा दैनिक तीन सयदेखि चार सय पिन्ट रगत आवश्यकता भए पनि अहिले दैनिक १५० देखि २०० पिन्टमात्र रगत उपलब्ध भएको प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारत सरकारको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएकाले आवश्यक मात्रामा रक्त सङ्कलन केन्द्र स्थापना गर्न नसक्दा रगत अभाव भएको हो ।”
शनिबार दश÷बाह्र स्थानमा रक्त सञ्चालन गर्ने गरे पनि इन्धन अभावका कारण तीन÷चार स्थानमा मात्र रक्त सङ्कलन गरिएको केन्द्रले जनाएको छ । इन्धन अभावका कारण उपत्यकाका विभिन्न विद्यालय र कलेज बन्द भएपछि रगत सङ्कलनमा समस्या उत्पन्न भएको छ ।
केन्द्रले पशुपति माडवारी सेवा समाजसँग मिलेर काठमाडौँको भूगोलपार्क र नेपाल रेडक्रस सोसाइटी महाबौद्ध उपशाखासँग मिलेर असनमा दैनिक रगत सङ्कलन गरेको छ । रासस
No comments:
Post a Comment