ललितपुर, १२ कात्तिक । निवर्तमान राष्ट्रपति डा रामवरण यादवले आफू सक्रिय राजनीतिमा नफर्कने बताउनुभएको छ ।
ललितपुरको बागडोलस्थित सरकारले उपलब्ध गराएको निवासमा प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै निवर्तमान राष्ट्रपति यादवले सो कुरा बताउनुभएको हो ।
हिमाल, पहाड, तराई जहाँ बसे पनि एकताबद्ध भएर बस्नुपर्ने उल्लेख गर्दै उहाँले दौरा, सुरुवाल र ढाका टोपी लगाएर आफूले तराई, पहाड र हिमाललाई जोड्ने काम गरेको उल्लेख गर्नु भयो ।
निवर्तमान राष्ट्रपति डा यादवलाई निवास प्रवेश गर्दा नेपाली काँग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्य, काँग्रेस काठमाडौँ सभापति एवम् सांसद भीमशेनदास प्रधान, सांसद चन्द्र महर्जन र किरण यादवले स्वागत गर्नुभएको थियो ।
त्यसैगरी निवासमा उपस्थित स्थानीयवासी सुभेच्छुकहरुले पनि निवर्तमान राष्ट्रपति डा यादवको स्वागत गर्नुभएको थियो ।
सरकारले ललितपुर उपमहानगरपालिका वडा नं ४ स्थित विष्णुदेवी हाइट (बागडोल)मा रहेको रवि विष्टको घरमा प्रथम राष्ट्रपति डा यादवको निवासको व्यवस्था गरेको हो । उक्त भवन दुई रोपनी दुई आना क्षेत्रफलमा निर्मित साँढे दुई तले रहेको छ । रासस
No comments:
Post a Comment