Friday, October 30, 2015

निजी क्षेत्रको समस्याबारे महासङ्घद्वारा उद्योग मन्त्रीलाई जानकारी

काठमाडौँ, १३ कात्तिक । उद्योग मन्त्री सोमप्रसाद पाण्डेसमक्ष नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रले पछिल्लो पटक व्यहोर्नु परेको समस्याका विषयमा अवगत गराएको छ ।

महासङ्घका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज मन्त्री पाण्डेलाई भेटी तीन महिनादेखि जारी तराई आन्दोलन तथा प्रमुख भन्सार नाकामा अवरोधका कारण उद्योग व्यवसायमा परेको नकारात्मक असरबारे जानकारी गराएको हो ।

उक्त टोलीले उद्योग व्यवसाय क्षेत्रले दैनिक करिब रु दुई अर्ब बराबरको आर्थिक नोक्सानी व्यहोर्दै आएकाले अहिलेको असहज अवस्थाको तत्काल अन्त्य गर्न आग्रहसमेत गरेको थियो ।

चरम इन्धन अभावका कारण औद्योगिक उत्पादन तथा कच्चा पदार्थको आयात निर्यात ठप्प छ भने वीरगन्जस्थित सुक्खा बन्दरगाहमा बाहिरबाट ल्याइएका माल वस्तु महिनौँदेखि सम्बन्धित स्थानसम्म लैजान नसकिएको विषयमा उद्योगमन्त्री पाण्डेलाई जानकारी गराइएको महासङ्घका अध्यक्ष मुरारकाले बताउनु भयो ।

जवाफमा उद्योग मन्त्री पाण्डेले अहिलेको असहज अवस्थाबाट उद्योग व्यवसाय क्षेत्रसहित मुलुकको अर्थतन्त्र गम्भीर रुपमा प्रभावित भएकोप्रति आफू अत्यन्त संवदेनशील रहेको र उद्योग व्यवसाय क्षेत्रलाई यस स्थितिमा कसरी सम्बोधन गर्न सकिन्छ तत्काल त्यसतर्फ गृहकार्य थाली सहयोग गर्ने बताउनुभएको अध्यक्ष मुरारकाले जानकारी दिनुभयो ।

उद्योग मन्त्रीले सुक्खा बन्दरगाहमा रहेका वस्तु छुटाउन छिट्टै पहल हुने आश्वासनसमेत दिनुभएको उल्लेख गर्दै अध्यक्ष मुरारकाले निजी क्षेत्रलाई साथमा लिई उद्योग क्षेत्रसँग सम्बन्धित नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts