म्याग्दी, २६ कात्तिक । १०७ औँ लक्ष्मी जयन्तीको अवसरमा बुधबार बेनीमा कृति विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
सुवासना साहित्य सदन म्याग्दीको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सञ्जयकुमार श्रेष्ठको “सम्मान र तालि” कथा सङ्ग्रह र शिव सस्मितको “बहाव” गजल सङ्ग्रहको संयुक्तरुपमा विमोचन गरिएको हो ।
पछिल्लो समय म्याग्दी जिल्लामा साहित्यिक माहोल बढ्दै जान थालेपछि श्रेष्ठको पहिलो र सस्मितको दोस्रो कृति प्रकाशन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अग्रज साहित्यकार प्रेमप्रकाश पौडेलले कृति प्रकाशनले म्याग्दी जिल्लाको साहित्यिक इतिहासमा नयाँ इट्टा थपेको बताउनुभयो ।
त्यस्तै, विशिष्ट अतिथि डा कर्ण बानियाँले साहित्यको अभिलेखीकरण हुनुपर्ने बताउनुभयो ।
सस्मितद्वारा लिखित गजल सङ्ग्रहको समिक्षा गर्दै रामप्रसाद सुवेदीले गजल सङ्ग्रहमा सबै राष्ट्रभाव, व्यङ्ग्यात्मकता, प्रकृति प्रेमलगायतका विषय वस्तु समेटिएको बताउनुभयो ।
कृतिकारद्वय श्रेष्ठ र सस्मितले सङ्ग्रहमार्फत समाजमा भएका विकृतिलाई उजागर गर्ने प्रयास गरिएको उल्लेख गर्नुभयो । सदनका अध्यक्ष सुशील थकालीको अध्यक्षतामा भएको कार्यक्रममा बहुमुखी प्रतिभाका धनी महाकवि देवकोटालाई स्मरण गरिएको थियो । रासस
No comments:
Post a Comment