भक्तपुर, ५ मङ्सिर । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले मधेसमा अङ्गीकृत नागरिकता लिएर आएकाले तराईका वास्तविक नेपाली नागरिकलाई विस्थापित गर्न खोजेको बताउनुभएको छ ।
आज भक्तपुरमा नेकपा (एमाले) जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा चियापान कार्यक्रममा बोल्दै उहाँले मधेसका वास्तविक जनतालाई अङ्गीकृत नागरिकता लिने भारतीयले विस्थापित गर्न खोजेकोमा चिन्ता रहेको बताउनुभयो ।
अहिले मधेसमा भएको आन्दोलन पनि अङ्गीकृत नागरिकताधारीको मात्रै भएको दाबी गर्दै उहाँले मधेसका अधिकांश माग संविधानमा समेटिएपनि अङ्गीकृत नागरिकताधारीले मधेसमा भ्रम फैलाएका कारण मधेसमा समस्या सिर्जना भएको बताउनुभयो ।
संविधान लिएर मधेसका जनतामाँझ गई संविधानमा गरेका व्यवस्थाका बारेमा बुझाउनसके मधेसका जनतामाझ फैलाइएको भ्रम हटाउन सकिने उहाँको भनाइ थियो ।
मधेसमा राजनीतिक दलका नेता, कार्यकर्ता तत्काल मधेसमा गएर संविधानका बारेमा मधेसका जनतालाई बुझाउन सक्नुपर्ने बताउनुभयो ।
मधेसमा आन्दोलनका नेतृत्वकर्ता सामन्तीको जमात रहेको बताउँदै उहाँले मधेस आन्दोलनमा वास्तविक मधेसका श्रमिक जनताको साथ नरहेको बताउनु भयो ।
महासचिव पोखरेलले भन्नुभयो– “एक मधेस वा दुई मधेसको माग पूरा नहुने भएपछि मधेस आन्दोलनका सामन्तीले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्ने र सीमाङ्कनका कुरा उठाएर यहाँदेखि यहाँसम्म चाहियो भनेर मागिरहेका छन्, यो कदापी हुन सक्दैन ।”
हिमाल र पहाड नभए मधेस बाँच्न नसक्ने र मधेस नभए पहाड बाँच्न नसक्ने चर्चा गर्दै उहाँले झापा, मोरङ, सुनसरीका जनतालाई नचाहिएको क्षेत्र उनीहरुलाई चाहिएको भनेर टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो– “रौतहट, सर्लाही, नवलपरासीका सामन्तीले झापा, मोरङ, सुनसरी माग्ने होइन, त्यहाँका जनताबाट निर्वाचित प्रतिनिधिले माग्नुपर्छ ।”
नेपालमा राजनीति गर्नेले प्रधानमन्त्री हुनदेखि सचिव हुनसमेत भारतमा गएर लम्पसार पर्ने गरेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो–“केहीअघिसम्म पनि प्रधानमन्त्री खान भारतसमक्ष बिन्ती बिसाउन गएकाले अहिले समस्या पा¥यो ।”
भारतले पटक पटक नाकाबन्दी गर्दा पनि चीनसँग वाणिज्य सम्झौता नगर्दा अहिलेको समस्या आएको बताउँदै उहाँले अब चीनसँग कम्तीमा पनि सातवटा नाका खोलेर समानान्तर रुपमा उत्तर र दक्षिणबाट समान ढङ्गले वाणिज्य व्यापार गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
राष्ट्रिय स्वाभिमान पक्षमा रहेकासँग हातेमालो गरेर एमालेले सरकार बनाएको बताउँदै उहाँले राष्ट्रिय स्वाभिमान जोगाउन एमाले अझै हात तल पार्न तयार रहेको र देशको सङ्कटलाई एमालेले नै निकास दिने दाबी पनि गर्नुभयो ।
एमाले जिल्ला कमिटी अध्यक्ष राजेन्द्र राजथलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य सोम मिश्र, जिल्लाका उपाध्यक्ष बच्चन देउजा लगायतले भारतीय नाकाबन्दीबाट सिर्जित समस्या समाधान छिटो हुनुपर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment