काठमाडौँ, ३ मङ्सिर । पछिल्लो सात वर्षमा सडक दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
नेपाल सरकार, क्षेत्रीय विकासका लागि राष्ट्रसङ्घीय केन्द्र, एसिया तथा प्रशान्त क्षेत्रका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (इस्क्याप) र जापानको वातावरण मन्त्रालयले संयुक्तरुपमा राजधानीमा आयोजना गरेको चारदिने ‘वातावरणीय रुपमा एसियामा दिगो यातायात मञ्च’ को नवौँ अन्तरसरकारी क्षेत्रीय सम्मेलनका क्रममा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जानकारी दिइएको हो ।
सन् २००७ देखि २०१४ सम्म मुलुकभर ८३७ वटा दुर्घटनामा परी एक हजार एक हजार ८५७ जना मृत्युको मुखमा पर्न बाध्य भएको पाइएको छ । सडक सञ्जालमा देखिएको समस्या, सडक प्रयोग गर्ने बानीमा रहेको कमजोरी तथा मादक पदार्थ सेवन गरी सवारी हाँक्ने प्रवृत्तिका कारण सडक दुर्घटना बढेको हो ।
सुरक्षात्मक अवधारणाको अभाव, पूर्वाधारको अभाव तथा जनचेतनाको अभाव पनि अर्को कारण रहेको पाइएको हो । सडक दुर्घटना कम गर्नका लागि पूर्वाधारको विकासमा विशेष जोड दिनुपर्ने सडक सुरक्षा रणनीतिको तयारी तथा त्यसको प्रयोगका विशेष ध्यान दिनुपर्ने आवश्यकता आँैल्याइएको छ ।
दीर्घकालीन विकास लक्ष्यलाई पूरा गर्न पनि सडक सुरक्षामा ध्यान दिनुपर्ने सम्मेलनका क्रममा आवश्यकता आँैल्याइएको छ । सन् २०२० सम्म संसारभर नै सडक दुर्घटनामा परी निधन हुनेको सङ्ख्यामा ५० प्रतिशतले कमी ल्याउने र सडक सुरक्षालाई विशेष ध्यान दिने लक्ष्यसमेत अगाडि सारिएको सन्दर्भलाई पूर्णरुपमा लागू गर्न नेपाललगायतका मुलुकको पनि विशेष ध्यान जानुपर्ने आवश्यकता अगाडि सारिएको छ ।
सडक निर्माणका क्रममा पनि वातावरणीय प्रभाव मूल्याङ्कन गरेर अगाडि बढ्नुपर्ने, सहज सडक पूर्वाधार बनाउनुपर्ने, विगतका तथ्याङ्कका आधारमा सडक सुरक्षाको रणनीति बनाउनुपर्ने देखिएको छ ।
यातायात क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गर्दै जैविक इन्धनको प्रयोगमा जोड दिनुपर्ने आवश्यकतामा जोड दिइएको आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
यस्तै ग्रामीण क्षेत्र अझै पनि सहज एवम् सुगम यातायात सेवाबाट वञ्चित भए पनि तिनलाई सडक सञ्जालबाट जोड्ने प्रयास जारी रहेको जानकारी दिँदै उहाँले सबैको साझा प्रयास, सहयोगबाट सुरक्षित एवम् दिगो यातायात विकास गर्न सकिने बताउनुभयो ।
यातायात क्षेत्रका चुनौती समाधान गर्न मञ्चका माध्यमबाट प्रविधि, अनुभव र ज्ञानको आदानप्रदान अपरिहार्य भएको क्षेत्रीय सम्मेलनमा जोड दिइएको थियो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्नुभएको थियो । रासस
No comments:
Post a Comment