काठमाडौँ, ११ मङ्सिर । एकीकृत नेकपा (माओवादी)को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने चीन भ्रमणबाट आज स्वदेश फिर्ता भएको छ ।
एमाओवादी पोलिट्ब्युरो सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री शशी श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीका उपविदेश मन्त्री लि चिङसँग भेटवार्ता गरेको थियो ।
भेटवार्तामा विदेश मन्त्री चिङले नेपाललाई अप्ठ्यारो परेका बेलामा असल सहयोगी छिमेकीका रुपमा सहयोग गर्न चीन सदैव तत्पर रहेको बताउनुभएको थियो ।
उहाँले नेपालमा नयाँ संविधान जारी भएकामा खुसी व्यक्त गर्दै संविधान निर्माणले नेपाल–चीन सम्बन्धमा नयाँ अवसर मिलेको बताउनुभएको नेत्री श्रेष्ठले जानकारी दिनुभयो । भूकम्पले नेपालमा पु¥याएको क्षतिमा दुःख व्यक्त गर्दै पुनःनिर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नेपालमा प्रचुरमात्रामा जलस्रोतको सम्भावना भएको बताउँदै त्यसको उत्पादनमा पुँजी र प्रविधि लगानी गर्न इच्छुक रहेको उपमन्त्री चिङले बताउनुभएको थियो । टोलीले चीनका विभिन्न प्रान्त र पार्टीका नेतासँग द्विपक्षीय हित र चासोका बारेमा कुराकानी गरेको थियो ।
एमाओवादीको उक्त टोलीमा महेश्वर गहतराज, पेशलकुमार खतिवडा, युवराज चौलागाइँ, बुद्धिमान माझी, कृष्णप्रसाद अधिकारी, हरिराम चौधरी, सङ्गीता भट्टराई, अम्बरबहादुर लामा, गङ्गाप्रसाद पोखरेल, असर्फी सदा, सुनिता रेग्मी, कृष्णबहादुर आलेमगर, लक्ष्मीप्रसाद शर्मा, रियाज अहमद, विजय महतो, ओपेन्द्रकुमार राय, गणेशबहादुर सलामी, गोम्बु शेर्पालगायत रहनुभएको थियो । रासस
No comments:
Post a Comment