गोरखा, ३० कात्तिक । भूकम्पपछि उद्धार र राहतको काम गर्ने प्रतिबद्धता जनाएर भूकम्पको केन्द्रबिन्दु गोरखा आएको एक गैरसरकारी संस्थालाई हस्ताक्षर कीर्ते गरेर भवन बनाउन सार्वजनिक जग्गा दिएको खुलासा भएको छ ।
गोरखा नगरपालिका–५ स्थित डण्डीडाँडाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रयोग गर्दै आएको भवन भत्काएर सोही जग्गामा भवन निर्माण गर्न मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) नामक गैससलाई सार्वजनिक जग्गा दिएको खुलेको हो ।
वडास्तरीय राजनीतिक परामर्श समितिका सदस्य नेपाली काँग्रेसका निलबहादुर पुलामी र एमाओवादीका डोरबहादुर बस्नेतको हस्ताक्षर कीर्ते गरेर डब्लुएचआरलाई भवन निर्माण गरी ५० वर्षसम्म प्रयोग गर्न दिने सहमति पत्र दिइएको हो ।
गोरखा नगरपालिकाले गत कात्तिक २१ गते शनिबार साँझ ७ बजे डण्डीडाँडा टोल विकास संस्था, डब्लुएचआरका प्रतिनिधिको उपस्थितिमा राजनीतिक दलका प्रतिनिधिको हस्ताक्षर कीर्ते गरेर भवन बनाउने सहमति दिएको स्रोतको भनाइ छ ।
स्थानीय काजीराम रोकाले आफूहरुको हस्ताक्षर कीर्ते गरेको भन्दै काँग्रेसका पुलामी र एमाओवादीका बस्नेतले नगरपालिकामा कागजपत्रको प्रतिलिपि माग गर्दै निवेदन दर्ता गराउनुभएको छ । रोका गैरसरकारी संस्था महासङ्घ गोरखा शाखाका अध्यक्ष हुनुहुन्छ ।
राजनीतिक दललाई जानकारी नै नदिई गोरखा नगरपालिकाले डब्लुएचआरलाई भवन निर्माणको सहमति दिएपछि काँग्रेसका पुलामी र एमाओवादीका बस्नेतले हस्ताक्षर कीर्ते भएको भन्दै नगरपालिकामा निवेदन दर्ता गराउनुभएको हो । नगरपालिकाका सूचना अधिकारी विजयभक्त उपाध्यायले तत्कालै सूचना नदिई पुलामी र बस्नेतलाई १५ दिनभित्र सूचना दिने आश्वासनसहित फर्काएपछि हस्ताक्षर कीर्ते गरेर गैससलाई जग्गा दिएको खुलेको हो ।
सार्वजनिक जग्गा मन्त्रिपरिषद् बैठकले मात्रै भोगचलनका लागि अनुमति दिनसक्ने भए पनि नगरपालिकाले सो नियम मिचेर गैससलाई जग्गा दिएको हो ।
डब्लुएचआरको केन्द्र, जिल्ला दैवी प्रकोप उद्धार समिति र गोरखा नगरपालिकाको सहमतिअनुसार गैससलाई भवन निर्माणका लागि जग्गा दिने सहमति भएको बताउँदै हस्ताक्षर कीर्ते गरेको आरोप खेप्दै आउनुभएका काजीरामले सो भवनभित्रको एउटा कोठा स्थानीय टोल विकास संस्थालाई दिने सहमति भएको दाबी गर्नुभयो । डब्लुएचआरले केही वर्षपछि भवन छाडेर जाने भएकाले उक्त सम्पत्ति नगरपालिकाकै हुने उहाँको तर्क छ । रोकाले परामर्श समितिका सदस्यको हस्ताक्षर आफूले कीर्ते नगरेको दाबी पनि गर्नुभयो ।
“सहकारीको भवन भत्काउन अग्रसरता लिएकाले सबैले मलाई कीर्ते गरेको आरोप लगाए,” रोकाले भन्नुभयो – “अरुले आरोप लगाए भन्दैमा म प्रतिकार गर्दै हिँड्दिनँ ।” सार्वजनिक जग्गा कुनै संस्थाले व्यापारिक रुपमा प्रयोग गर्न नपाउने उहाँले बताउनुभयो ।
डब्लुएचआरले भने नगरपालिकाको कार्यालयले आफूलाई सो जग्गामा भवन बनाउने अनुमति दिएको सार्वजनिक कार्यक्रममा दाबी गर्दै आएको छ । रासस
No comments:
Post a Comment