Monday, November 16, 2015

उपभोक्ता समितिसँग कमिसन मागेको गुनासो

त्रिशूली(नुवाकोट), ३० कात्तिक । खरानीटारमा आज भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयवासीले रासायनिक मल र भूकम्पपीडितको घर पुनःनिर्माणको विषयमा गुनासो गर्दै सरकारले सोका लागि पहल गर्नुपर्ने माग गरे ।
जिविसको आयोजनामा भएको कार्यक्रममा सहभागी सर्वसाधारणले भूकम्प गएको सात महिनामा समेत सरकारले पुनःनिर्माणसम्बन्धी योजना ल्याउन नसक्दा पीडित झनै पीडित भएको बताउँदै सहभागीले विकासनिर्माणसम्बन्धी कार्य गर्दा उपभोक्ता समितिसँग प्राविधिक तथा बजेट विनियोजन गर्ने कार्यालयले कमिसन माग्ने गरेको गुनासो गरेका थिए ।
कार्यक्रममा प्रजिअ उमेशकुमार ढकालले जिल्लामा विभिन्न समस्या समाधानका लागि यातायात व्यवसायी, सर्वसाधारण सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।
स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले जिल्लमा विकास निर्माणको कार्य गर्दा कसैले पनि कमिसन तथा यो वा त्यो बहानामा कुनै पनि रकम प्राविधिक तथा सम्बन्धित कार्यालयलाई दिन नपर्ने स्पष्ट पार्नुभयो । जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम शाहले नुवाकोटको जनसङ्ख्या र भौगोलिकताको कारण प्रहरी दरबन्दी थोरै रहे पनि शान्ति सुव्यवस्था कायम गर्न २४ सै घन्टा प्रहरी परिचालन गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांँग्रेस नुवाकोटका सदस्य राजु थापाले १८ वर्षदेखि देशमा स्थानीय निकायको निर्वाचन नहुँदा निश्चित व्यक्तिहरु छुट्टै लाभतर्फ केन्द्रित भएका कारण जनताले विकास निर्माणमा गुणस्तरीयता र पारदर्शिता पाउन नसकेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर लोकनाथ रेग्मी, जिल्ला पशुसेवा कार्यालयका खगेन्द्रराज भट्ट, जिल्ला खानेपानी कार्यालयका प्रमुख इन्जिनियर ओमहरि ताम्राकारलगायतले भूकम्प र दुई महिनादेखि नाकाबन्दीको कारण इन्धन, दैनिक उपभोग्य सामग्रीमा कालोबजारी लगायत समस्याले सर्वसाधारणको कार्यसम्पादनमा केही ढिलाइ हुन पुगेको स्वीकार गर्नुभयोे । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts