Monday, November 2, 2015

घोरेपानी घुम्ने पर्यटक घटे

बागलुङ, १६ कात्तिक । पर्यटकीय याममा म्याग्दीको घोरेपानीमा घुम्न आउने पर्यटक आधा घटेका छन् ।

गत वैशाखको भूकम्पले सुस्ताएको पर्यटन व्यवसाय भारतले गरेको अघोषित नाकाबन्दीका कारण थप मारमा परेको हो । अघिल्लो वर्षको तुलनामा पचास प्रतिशत पर्यटक घटेको घारेपानी होटल व्यवस्थापन समितिले जनाएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने आकर्षक गन्तव्य घोरेपानी–पुनहिल घुम्ने उपयुक्त याम असोज–मङ्सिर हो । गतवर्ष यसै याममा दैनिक ४०० सम्म विदेशी पर्यटक घोरेपानी भित्रिएकामा अहिले १५० देखि २०० सम्म मात्र पर्यटक आएको समितिका अध्यक्ष जुनु पुनले बताउनुभयो ।

असोज–मङ्सिर र फागुन–वैशाखमा गरि दुई याममा घोरेपानी क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने गर्छ । भूकम्पबाट अन्नपूर्ण संरक्षण क्षेत्र र चक्रीय पदमार्गमा पर्ने पर्यटकीय गन्तव्य सुरक्षित रहेपनि पर्यटक आगमन घटेको पर्यटन व्यवसायी बताउँछन् ।

“भूकम्पका कारण यहाँको पर्यटन व्यावसाय सुस्ताएको हो, त्यसमाथि अहिले राजनीतिक अस्थिरता र नाकाबन्दी जस्ता कारणले प्रभाव पारेको छ”–अध्यक्ष पुनले भन्नुभयो । इन्धन र अत्यावश्यक वस्तुको अभावले होटलले सेवा–सुविधामा पनि कटौतीसमेत गरेका छन् ।

सीमामा उत्पन्न अवरोध र इन्धन अभावका कारण भारतीय भूमि हुँदै नेपाल भित्र्ने तेस्रो मुलुकका पर्यटक आउन नसकेको होटल ‘स्नो भ्यू’ सञ्चालक टेकसर बुुद्धजा पुन मगरले बताउनुभयो । अन्नपूर्ण क्षेत्रमा भारत हुँदै नेपाल भित्र्ने पर्यटक बढी आउने गरेका छन् । पुनका अनुसार पर्यटक आगमन घटेपछि होटलको कारोवार पनि ह्वात्तै घटेको छ ।

“मुख्ययाममा एउटै होटलमा दैनिक रु ८० हजारदेखि रु एक लाखसम्म कारोवार हुने गथ्र्यो,”–पुनले भन्नुभयो, “देशको अवस्था सुध्रिएमा यस क्षेत्रको पर्यटन व्यवसाय थप फस्टाउने देखिन्छ ।”

कात्तिक महिनाको ११ गतेभित्र एक हजार ४५५ विदेशी पर्यटकले घोरेपानी क्षेत्र घुमेको घारेपानीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी हवल्दार बुद्धिराम केसीले बताउनुभयो । उक्त सङ्ख्या गत वर्षको तुलनामा आधाभन्दा कम हो । गतवर्ष मासिक तीन हजार ६०० बढी पर्यटक घोरेपानी क्षेत्रमा भित्रिएको उहाँले जानकारी दिनुभयो ।

अन्नपूर्ण क्षेत्र भूकम्पपछि पनि पूर्णतया सुरक्षित रहेकाले पर्यटकलाई कुनै द्विविधा नपाल्न ‘कोलम्बस ट्रेक्स’ काठमाडौँका प्रबन्ध निर्देशकप्रमोद दाहालले आग्रह गर्नुभयो । उहाँले अन्नपूर्ण क्षेत्रका पर्यटकीय गन्तव्य आकर्षक र सुरक्षित रहेको बताउनुभयो ।

यस याममा हिम श्रृङ्खला र सूर्योदय अवलोकनका लागि पर्यटक आउने गर्छन् । अन्नपूर्ण चक्रीय पदमार्ग र धवलागिरी–अन्नपूर्ण पर्यावरणीय पदमार्गका विभिन्न ‘रुट’ हुँदै पर्यटक घोरेपानी पुग्ने गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts