विराटनगर, २६ कात्तिक । उपप्रधानमन्त्री एवम् भौंतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले तिहारपछि आन्दोलन दलहरुसँग निर्णायक वार्ता हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले आन्दोलनरत दलहरुले शीर्ष नेताहरुसँग नै छलफल गर्ने प्रस्ताव गरेअनुरुप वार्तालाई अगाडि बढाइने स्पष्ट पार्नुभयो ।
आन्दोलनकारीको मुख्य माग सीमाङ्कन नै रहेको बताउँदै उहाँले भन्नुभयो, “यसका लागि संविधान संशोधन आवश्यक रहेकाले सबै दलसँग समझदारी बनाएर सरकार अगाडि बढ्ने छ ।”
उहाँले तीन महिनादेखि जारी आन्दोलनका कारण तराईका साथै सिङ्गो मुलुकको जनजीवन अस्तव्यस्त भएको र अर्थ व्यवस्थामा प्रतिकूल असर परेको उल्लेख गर्दै सरकार समस्याको समाधान खोज्न उदार छ भन्नुभयो ।
थारु र मधेसीको बाहुल्य हुने गरी दुई प्रदेश निर्माण भएमा समस्या समाधान हुने उहाँको भनाइ थियो ।
नेपाल–भारतको सिमानामा देखिएका अवरोधका कारण दुवै मुलुकबीच सम्बन्ध चिसिएकाले यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।
तातोपानीलगायतका नाका पुनः सञ्चालनमा ल्याउन चीन सरकारसँग पनि आग्रह गरिएको बताउँदै उहाँले भन्नुभयो । जारी संविधानलाई कार्यान्वयन गर्न नेपाली काँग्रेससहितको सहमतिको सरकार निर्माण आवश्यक रहेको र यसका लागि आपूm प्रयासरत रहेको पनि उहाँले बताउनुभयो । रासस
No comments:
Post a Comment