भीमदत्तनगर, २६ कात्तिक । भारतको अघोषित नाकाबन्दीका कारण दार्चुलामा निर्माणाधिन चमेलिया आयोजनाको काम प्रभावित बनेको छ ।
नाकाबन्दीका कारण इन्धन तथा निर्माण सामग्री नपाउँदा आयोजनाको काम प्रभावित बनेको आयोजनाका उपप्रबन्धक पुष्पराज जोशीले बताउनुभयो । आयोजनाको सुरुङ्ग बाहेक अन्य काम यसअघि सुरु भएपनि अहिले सामग्री अभावले निर्माणकार्य प्रभावित बनेको जोशीको भनाइ छ ।
“विद्युत् गृहको ढलान गर्नका लागि सिमेन्ट अभाव भएको छ,” उपप्रवन्धक जोशीले रासससित भन्नुभयो– “नाकाबन्दीले यहाँ आउने सामग्री सिमानाकामा थन्कीएको छ ।” आयोजनाको निर्माण सामग्रीको जिम्मा पाएको सप्लार्यसले केही महिनायता ढुवानी गर्न पाएको छैन ।
त्यसैगरी दसैँ तिहारलगायतका चाडपर्वका कारणले पनि आयोजनाको काम सुस्ताएको उहाँको भनाइ छ । सिभिल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ‘चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सिजिजीसी)’ले सम्झौताअनुसार नेपाल विद्युत प्राधिकरणले समयमा रकम भुक्तानी नगरेको भन्दै २०७१ जेठदेखि अनिश्चितकालका लागि निर्माणकार्य रोकेको छ ।
सरकारले ठेकेदारलाई परिचालन गर्न नसक्दा आयोजनाको निर्माणकार्य लम्बिदै गएको आयोजनाले जनाएको छ । तीस मेगावाट क्षमता भएको आयोजना विगत सात वर्ष अघिदेखि शिखर गाविस–४ बलाँचमा निर्माणाधिन अवस्थामा रहेको छ । रासस
No comments:
Post a Comment