काठमाडौँ, २४ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले शुभ दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा महामन्त्री सिंहले मधेसका जायज मागलाई संविधान संशोधनमार्फत टुङ्याउन सरकारलाई आग्रह गर्नुभयो ।
महामन्त्री सिंहले आफ्नो पार्टीले बनाएको संविधान कार्यान्वयनका लागि प्रधानमन्त्री पदमा पार्टी सभापति सुशील कोइरालाले उम्मेद्वार दिएको बताउनुभयो ।
उहाँले भारत सरकारले लगाएको अघोषित नाकाबन्दीलाई कूटनीतिक पहलबाट चाँडो समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।
नेपाल टेलिभिजन सञ्चालक समितिका अध्यक्ष महेश दाहालले नेपालको एकमात्र सरकारी टेलिभिजन नेपाल टेलिभिजनलाई अझ प्रभावकारी बनाउनु जरुरी रहेको बताउनुभयो ।
नेपाल टेलिभिजनका निमित्त महाप्रबन्धक दीपकमणि धितालले नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाल टेलिभिजनले खेलेको भूमिकाको स्मरण गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ उपाध्यक्ष अनिता बिन्दुले तराईमा जारी आन्दोलनले तराईमा काम गर्ने पत्रकार असुरक्षित भएको भन्दै वार्ताको माध्यमबाट चाँडो निकास खोज्न सरकारलाई आग्रह गर्नुभयो ।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले नेपाल टेलिभिजनले नेपालको पत्रकारितामा नेपाल टेलिभिजनले खेलेको भूमिकाको सराहना गर्नुभयो ।
नेपाल प्रेस युनियन नेपाल टेलिभिजनका अध्यक्ष महाप्रसाद लामिछाने, नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाका अध्यक्ष शालिक सुवेदी, नेपाल टेलिभिजन कर्मचारी सङ्घका अध्यक्ष गोविन्द धितालले नेपाल टेलिभिजनको वृद्धिका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment