चितवन, ८ मङ्सिर । नेपाल आयल निगममा लैजाने इन्धन बाटोमै अवैधरुपमा सिल तोडेर बिक्री हुने गरेको रहस्य खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले गएराति नारायणगढको बेलचोकस्थित एक हार्डवेयर पसलमा हवाई इन्धन बिक्री हुँदै गर्दा ट्याङकर र चालक पक्राउ गरेपछि सो रहस्य खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी कालोबजारी गरी सिनामङ्गल डिपोबाट प्रतिलिटर ११८ रुपैयाँमा बिक्री गर्ने हवाई इन्धन बीचबाटोमा एक सय रुपैयाँ प्रतिलिटिरमा बिक्री गरेको पाइएको जनाएको छ ।
नेपालगञ्जस्थित राझा विमानमा रहेको नेपाल आयल निगमको डिपोबाट सिनामङ्गलस्थित निगमको डिपोमा इन्धन लैजाँदै गर्दा ना २ ख ४३६५ नम्बरको ट्याङ्करले बेलचोकको विराज ट्रेडर्समा आठ ड्रममा एक हजार पाँचसय लिटर हवाई इन्धन बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
सो कार्यमा संलग्न रहेका ट्याङ्कर चालक मकवानपुर, काँकडा– ४ का सोमलाल ब्लोन र हार्डवेयरका सञ्चालक विनोद अगस्थिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
घटनामा संलग्न भएको आशङ्कामा हार्डवेयरमा कार्यरत पार्वतीपुर, चितवनका टीकाराम बराल र चालकका साथी वीरगञ्ज घर भएका किशोरी पटेललाई पनि नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
ट्याङ्करले नेपालगञ्जबाट २० हजार लिटर हवाई इन्धन लिएर आएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याङ्कर, चार अभियुक्त र बिक्री गर्न लागेको आठ ड्रम हवाई इन्धन पनि नियन्त्रणमा लिएको छ ।
चालकले प्रहरीलाई नगद ५० हजार घुस दिन खोजेको तर सो रकमसहित व्यक्ति नियन्त्रणमा लिइएको कुँवरले बताउनुभयो । रासस
No comments:
Post a Comment