काठमाडौँ, ८ मङ्सिर । सरकारले आज मुलुकको आर्थिक अवस्थाका बारेमा श्वेतपत्र जारी गर्ने भएको छ । श्वेतपत्र जारी गर्न आजै बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयलाई अनुमति दिएको हो ।
अर्थमन्त्री विष्णु पौडेलका अनुसार आज साँझ ७ः३० बजे पत्रकारसम्मेलनको आयोजना गरेर श्वेतपत्र जारी गरिनेछ । भारतले अघोषित रुपमा जारी राखेको नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनका कारण मुलुकको आर्थिक स्वास्थ्य नराम्ररी प्रभावित भएको भन्दै जनतालाई यथार्थ जानकारी दिन श्वेतपत्र जारी गर्न लागिएको हो ।
भूकम्पले थिलथिलो पारेको मुलुकको अर्थतन्त्र भारतको अघोषित नाकाबन्दीका कारण थप समस्यामा परेको छ । श्वेतपत्रमा ती विषय समावेश गरिनेछ । जनतालाई यथार्थ जानकारी गराएर समाधानको उपाय खोज्नसमेत सो पत्रमा आग्रह गरिने बताइएको छ ।
नागरिक समाज, नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका संस्थाले श्वेतपत्र जारी गर्न पटक–पटक सरकारलाई आग्रह गर्दै आएका थिए । रासस
No comments:
Post a Comment