Sunday, November 8, 2015

टेस्ट राष्ट्र पाकिस्तानसँग नेपालको सम्मानजनक हार

काठमाडौँ, २२ कात्तिक । एसोसिएट टोली नेपालले टेस्ट राष्ट्र पाकिस्तानसँग १२१ रनले सम्मानजनक हार आत्मसात गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा आज बलियो टोली पाकिस्तानले टस हारेर पूरै ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा नेपालसामु ३२६ रनको चुनौती पेश गरेको थियो । जवाफी ब्याटिङमा आएको नेपालले पूरै ओभर खेल्दै ५ विकेट गुमाएर २०५ रन बनायो ।

नेपालका लागि अनिल मण्डलले सर्वाधिक ६१ रनको योगदान गरे । उपकप्तान ज्ञानेन्द्र मल्ल खेल सकिन १ बल बाँकी छँदा ४१ रन बनाएर आउट भए । शरद भेषवाकरले अविजित १४ र मेहेबुब आलमले अविजित १ रन बनाए ।

कप्तान पारस खड्का १३ रनमा आउट हुँदा सागर पुनले ३९ र सुवास खकुरेलले २६ रनको योगदान गरे ।

यसअघि वसन्त रेग्मीले २ तथा सागर पुन र पारसले १÷१ विकेट लिएपछि पाकिस्तानका ६ व्याट्सम्यान पेवेलियन फर्किए ।

पाकिस्तानका लागि अजर अलीले ७४, सोहेब मल्लिकले ६३, मोहम्मद हाफिज ४९, युनिस खानले ३८, अहमद शेहेजाद ३५ तथा सर्फराज अहमदले २ रन बनाए । पाकिस्तानका अनवर अलिले सर्वाधिक २ विकेट लिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एसोसिएट राष्ट्रलाई विकास गर्ने उद्देश्यले नेपालको खेल पाकिस्तानीसँग मिलाइदिएको हो । पाकिस्तान टेस्ट वरियतामा दोस्रो स्थानमा रहेको बलियो टोली हो ।

नेपालविरुद्ध उत्रेको पाकिस्तानी टोलीमा इङ्ल्यान्डसँगको शृङ्खलाका लागि टोलीमा परेका खेलाडीले नै नेपालविरुद्ध खेलेका थिए । नेपाली टोलीमा कप्तान खड्का, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, वसन्त रेग्मी, सागर पुन, सोमपाल कामी, शरद भेषवाकर, मेहबुब आलम, विक्रम सोब, नरेश बुढाएर, महेश क्षेत्री, शक्ति गौचन, इर्साद अहमद र करण केसी थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts