काठमाडौँ, १९ कात्तिक । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।
पदभार ग्रहण गरेपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री पौडेलले वर्तमान सरकारको नीति, कार्यक्रम र दृष्टिकोणलाई कार्यान्वयन गर्न सबै कर्मचारीलाई सक्रियताका साथ काम गर्न आग्रह गर्नुभयो ।
सबैको आफ्नो राजनीतिक आस्था भए पनि त्यसलाई मनभित्र सुरक्षित राख्दै मन्त्रालय र यस मातहतका निकायमा रहेर काम गर्दा आफ्नो आस्थाबाट परिचालित नहुन उहाँले निर्देशन दिनुभयो ।
आस्थाको आधारमा आफूले कसैलाई भेदभाव नगर्ने स्पष्ट पार्दै मन्त्री पौडेलले सबैप्रति समान भाव र समदूरी राख्ने बताउनुभयो ।
आफूले केवल परिणाम हेर्न चाहेको बताउँदै उहाँले काम र परिणाममा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।
वर्तमान सरकारको प्रमुख दुई कार्यसूची रहेको बताउँदै उहाँले भन्नुभयो, “पहिलो जिम्मेवारी संविधानको रक्षा, सफल प्रयोग र विकास गर्नु तथा दोस्रो जिम्मेवारी मुलुकलाई आर्थिक समृद्धितर्फ अग्रसर गराउनु हो ।”
उहाँले समृद्धिको कार्यसूचीमा केन्द्रित रहेर मन्त्रालयको काम अगाडि बढाउने बताउँदै त्यसका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहयोगलाई साथै लिएर जाने जानकारी दिनुभयो ।
सबैको सहयोगमा चुनौतीको सामना गर्दै मुलुकको अर्थतन्त्रलाई समृद्धितर्फ लैजान सक्ने विश्वासका साथ आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “राजस्व असुली र राजस्व प्रशासनमा स्वच्छता, करमैत्री वातावरणमा जोड, विकास खर्चको अनुगमन गर्दै ठूला विकास निर्माणमा तीव्रता, अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगलाई उचित परिचालनमा प्राथमिकता दिनेछु ।”
आपूर्ति व्यवस्थामा देखिएको असहजताबाट परेको प्रभावलाई न्यूनीकरण गरी सामान्य अवस्थामा फर्काउन निजी क्षेत्रसँग सहकार्य गर्ने उहाँको भनाइ थियो ।
संविधान निर्माणपछि देखिएका असन्तुष्टिलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न सरकार अग्रसर रहेको उहाँले बताउनुभयो । रासस
No comments:
Post a Comment