Saturday, November 14, 2015

बसले घन्टौँ कुराउँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेनन्

काठमाडौँ, २८ कात्तिक । यातायात समितिले सुपर एक्सप्रेस लेखेर सञ्चालन गरेका सवारीसाधनले सडकमा घन्टौँ कुराउँदा समयमै गन्तव्यमा पुग्न नसकिएको यात्रुले गुनासो गरेका छन् ।

इन्धनको अभावसँगै यातायात व्यवसायीले थोरै सवारीसाधनमा धेरै यात्रु बोकेर हिँड्नलाई लामो समय कुर्न थालेपछि यात्रु समयमा गन्तव्यमा पुग्न नसकेका हुन् ।

सरकारले यात्रुलाई सहज होस् भनी निजी सवारीलाई इन्धन कटौती गरी सार्वजनिक सवारीलाई दिएपनि यात्रुले सुविधा पाउन सकेका छैनन् । सरकारबाट प्राथमिकता पाई इन्धन लिएर यात्रुसँग मनपरि भाडा उठाउँदा पनि अनुगमन नभएको उपभोक्ता मञ्च नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।

“भदौ २५ गते लागू गरिएको भाडादरपछि यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्रता दिई बढी भाडा लिनेलाई कारबाही गरेकोमा भारतको अघोषित नाकाबन्दीसँगै अनुगमन फितलो भएको छ, अघोषित नाकाबन्दीपछि नेपाल आयल निगमले सार्वजनिक सवारीलाई मात्र इन्धन दिँदा उनीहरुले कालोबजारी गर्ने अवसर पाएका छन्, यसको अनुगमन हुनुपर्छ”–उहाँले भन्नुभयो ।

आज बिहान मेलम्चीबाट धुलिखेल हुँदै चुच्चेपाटी आएको हेलम्बु यातायातको बा २ ख ३९२९ नम्बरको बसले सुपर एक्सप्रेस लेखी यात्रुसँग बढी भाडा लिएको र पाँच घन्टा लगाएर मात्र गन्तव्यमा ल्याई पु¥याएको भन्दै यात्रुले चुच्चेपाटीमा विरोध जनाए ।

“सुपर एक्सप्रेस लेखिएको बसले ७० किमी दूरी पार गर्न पाँच घन्टा लगायो, प्रत्येक बिसाउनीमा १५ मिनेटसम्म रोकिएको बसमा खचाखच यात्रु थिए, भाडा पनि तिहार भन्दै दोब्बर असुलियो, हामी निरीह भएर तिर्न बाध्य भयौँ”– रासससँग कुरा गर्दै पीडित यात्रु सोमबहादुर बम्जनले भन्नुभयो ।

यो रुटमा हेलम्बु यातायातको एकाधिकार हुँदा आफूहरुले यस्तो सास्ती बेहोर्न बाध्य हुनुपरेको उहाँको गुनासो थियो । चुच्चेपाटीमा आइपुगेपछि यात्रुले समितिको मनपरिको विरोध जनाउँदै यस्ता गतिविधि नसच्याए आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने चेतावनी दिएका छन् ।

यात्रुले सास्ती भोगेको रुटको यो त प्रतिनिधि घटना मात्र भएको मञ्चले जनाएको छ । यस्ता गुनासो मञ्चमा दैनिक दर्जनौँ आउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यस सम्बन्धमा विभागका प्रवक्ता बसन्त अधिकारीसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts