Sunday, November 8, 2015

वार्ता र सम्वादका माध्यमबाट समस्याको समाधान हुने उपराष्ट्रपति पुनको विश्वास

काठमाडौँ, २२ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक विषम परिस्थितिबाट गुज्रेकाले त्यसलाई सकारात्मक ढङ्गले समाधान गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले मुलुकमा देखिएका विभिन्न समस्यालाई वार्ता र संवादबाट हल गर्न सरकार लागिरहेको भन्ने आफूले थाहा पाएको बताउनुभयो ।

नेपालीको संस्कार भनेको हिमालको जनतालाई दुःख पर्दा पहाड र तराईका जनताले साथ दिने र तराईको जनतालाई समस्या पर्दा हिमाल र पहाडका जनताले सहयोग गर्ने भएकाले सबै प्रकारको समस्या आन्तरिक रुपमा नै समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपालको संविधान घोषणा भएपछि मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले कुनै पनि संविधान पूर्ण हुँदै, क्रमशः परिमार्जन गर्दै लगिने भएकाले कोही कसैले असन्तुष्टि व्यक्त गर्न नहुने स्पष्ट पार्नुभयो ।

मुलुकका विभिन्न स्थानमा देखिएको असन्तुष्टिलाई सकारात्मक तबरले सम्बोधन गर्न सरकार, राजनीतिक दल प्रतिबद्ध भएर लाग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

संविधानले दिएको परिधिभित्र बसेर आफूले पनि समस्या समाधान गर्न सरकार, राजनीतिक दललाई आग्रह गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले केही दिनभित्रै मुलुकले निकास पाउने विश्वास व्यक्त गर्नुभयो । सरकारले कूटनीतिक पहल गरेर सीमामा देखिएको समस्या समाधान गर्न प्रयत्न गर्नेसमेत उपराष्ट्रपति पुनको भनाइ थियो ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts