काठमाडौँ, ११ मङ्सिर । उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसी र नेपालका लागि जापानका राजदूत मासाही ओगावाबीच आज भेटवार्ता भएको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच आपसी हित र दुई देशबीचको मैत्री सम्बन्धका विषयमा कुराकानी भएको थियो ।
नेपालको आर्थिक समृद्धि र विकासमा जापान सरकारले जारी राखेको सहयोगको उच्च प्रशंसा गर्दै उपप्रधानमन्त्री केसीले आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभएको थियो ।
उहाँले भूकम्पपछिको पुनःनिर्माणलगायतका विभिन्न क्षेत्रमा जापान सरकारको सहयोग उपलब्धिमूलक रहेको तथा नेपाल र जापानबीचको मैत्री सम्बन्ध आगामी दिनमा थप प्रगाढ बन्ने अपेक्षा गर्नुभएको थियो ।
राजदूत ओगावासँगको भेटवार्तापछि रासससँग कुरा गर्दै उपप्रधानमन्त्री केसीले भारतले अघोषित रुपमा जारी राखेको नाकाबन्दीका कारण मुलुकमा इन्धनलगायत अत्यावश्यक सामग्रीको अभाव भएकाले त्यसको समाधानमा सरकारले राजनीतिक, कूटनीतिक तवरले जारी राखेको प्रयासका बारेमा आफूले अवगत गराएको बताउनुभयो ।
सो अवसरमा नेपालमा विभिन्न रुपमा कार्यरत ८०० भन्दा बढी जापानी नागरिकसमेत भारतको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको राजदूत ओगावाले बताउनुभएको थियो । रासस
No comments:
Post a Comment