Thursday, November 5, 2015

भूकम्पपछिको पुनःनिर्माणलाई विशेष ध्यान दिइने

काठमाडौँ, १९ कात्तिक । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले भूकम्पपछिको पुनःनिर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

आज आफ्नो पद बहालीपछि रासससँग कुरा गर्दै उहाँले गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिका परकम्पका कारण पैदा भएको समस्या समाधान गर्न तथा पुनःनिर्माण तथा पुनःस्थापनालाई विशेष जोड दिइने उल्लेख गर्दै भूकम्पपछिको पुनःनिर्माणका लागि गठन हुने पुनःनिर्माण प्राधिकरणको पूर्ण संरचना तयार नहुँदासम्म आयोगले नै हेर्ने भएकाले आजदेखि नै त्यसमा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

भूकम्प र भारतले जारी राखेको अघोषित नाकाबन्दीले मुलुकको अर्थतन्त्र कठिन अवस्थामा रहेको बताउँदै उपाध्यक्ष डा खतिवडाले आर्थिक जनजीवनलाई सामान्यतर्फ फर्काउन विशेष पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले चालु आवको बजेट कार्यान्वयनमा पहल गरिने तथा दिगो विकासका लक्ष्यसम्म पुग्न विशेष कार्यक्रम र रणनीति तयार पारिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । “मुलुकका विकासका साझेदारसँग सहकार्य गरेर उनीहरुलाई विश्वासमा लिई भूकम्पपछिको पुनःनिर्माण तथा आर्थिक समृद्धिको योजना बनाइने छ”– डा खतिवडाले भन्नुभयो ।
बुधबारको मन्त्रिपरिषद्ले डा खतिवडालाई आयोगका उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगमा दोस्रो पटक उपाध्यक्षमा नियुक्त हुनुभएका डा खतिवडा यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts