काठमाडौँ, १ मङ्सिर । कफी उत्पादनमा उत्कृष्ट कार्य गरेका विभिन्न १२ जिल्लाका एक÷एक जना कृषक सम्मानित भएका छन् ।
एघारौँ राष्ट्रिय कफी दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा आज यहाँ आयोजित कार्यक्रममा सम्मानित हुनेमा गोरखा छोप्राक–२ का सूर्यप्रसाद पोखरेल, बेँसीसहर लमजुङ नगरपालिकाका ठाकुरप्रसाद बराल हुनुहुन्छ ।
यसैगरी सिन्धुपाल्चोक कालिका–३ का चूडामणि प्याकुरेल, पाल्पा सत्यवती–७ का भगबहादुर सिंजाली, कास्की ढिकुरपोखरी–१ का कलाधर भुगाई, गुल्मी थानपति–९ का धनकुमारी राना, स्याङ्जा अर्जुन चौपारी–६ का क्षेत्रबहादुर रोका, तनहुँ आँबुखैरेनी–२ का गिरबहादुर पन्त, काभ्रे मिल्चे–२ का लोकबहादुर घलान, पर्वत कुश्मा नगरपालिका–१८ पकुवाका ठाकुरप्रसाद पौडेल र ललितपुुर आस्राङ–५ का लिलानाथ घिमिरे हुनु्हुन्छ ।
कृषि विकास मन्त्री हरिबोल गजुरेलले ती कृषकलाई सम्मान गर्नुभएको थियो । १९९५ सालमा गुल्मीको आँपचौरबाट नेपालमा सुरु भएको कफीखेती हाल २५ जिल्लामा यसको व्यावसायिकरुपमा हुन्छ ।
एघार लाख हेक्टरमा कफी उत्पादन गर्न सुहाउँदो हावापानी भए पनि हाल करिब दुई हजार ३८१ हेक्टरमा ४७२ मेट्रिक टन मात्र उत्पादन भइराखेको छ ।
नेपालमा उत्पादन भएका कफीले अमेरिका, जापान, क्यानडा, अस्ट्रेलिया, युरोपियन युनियनमा आबद्ध देशमा राम्रो बजार लिन सफल भएको कार्यक्रममा जानकारी दिइयो ।
कृषि विकास मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा ती देशमा नेपाली कफीको स्वादलाई ब्राण्ड दर्ता गराइसकेको छ ।
सो अवसरमा मन्त्री गजुरेलले सामन्तवाद र पुँजीवादी तत्वले नेपालको संविधान कार्यान्वयनमा अवरोध पु¥याएको आरोप लगाउनुभयो । रासस
No comments:
Post a Comment