काठमाडौँ, ५ मङ्सिर । सरकारले हवाई इन्धनको वैकल्पिक व्यवस्था गर्ने क्रममा आगामी मङ्गलबारदेखि पेट्रोम्याक्सबाट इन्धन आयात गर्ने भएको छ ।
नेपाल आयल निगमले हवाई इन्धन आयात गर्न पेट्रोम्याक्सलाई अनुमति दिएको हो ।
नेपाल वायु सेवा निगमलेभन्दा केही सस्तो मूल्यमा इन्धन आयात गर्ने प्रतिबद्धता पेट्रोम्याक्सले जनाएको छ । सो कम्पनीले चार लाख लिटर हवाई इन्धन आयात गर्नेछ । उक्त परिमाणको इन्धन आन्तरिक वायु सेवा सञ्चालनका लागि पर्याप्त हो ।
इन्धन आपूर्ति असहज भइरहेको अवस्थामा निगमले नेपाल वायु सेवा निगमलाई हवाईमार्गबाट इन्धन ल्याउन अनुमति दिएको थियो । सोही अनुमतिका आधारमा नेवानीले हवाई इन्धन आयात गरिरहेको छ ।
काठमाडौँ–कोलकाता उडान गरेर नेवानीले प्रतिउडान २२ हजार लिटर हवाई इन्धन आयात गर्दै आएको छ । नेवानिले बिहीबार कोलकाता उडान गर्न नसक्दा आन्तरिक हवाई सेवा प्रभावित भएको थियो । तर शुक्रबार र शनिबार नेवानिले दुई–दुई उडान गरी ८८ हजार लिटर हवाई इन्धन आयात गरिसकेको नेवानिका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिनुभयो ।
नेपाल आयल निगम त्रिभुवन विमानस्थल प्रमुख प्रदीप यादवका अनुसार पेट्रोम्याक्सले ल्याउने हवाई इन्धन आन्तरिक उडानकालागि पर्याप्त हुने भएकाले नेवानिले ल्याउने इन्धन भण्डारण गरिनेछ ।
नेवानिले आयात गरेको हवाई इन्धनको भरमा आन्तरिक हवाई सेवा प्रदायकले सेवा पु¥याउँदै आएका छन् । सरकारले गत असोज १४ गते जुनसुकै माध्यम, साधन, स्रोत र मुलुकबाट भएपनि इन्धन आयात गर्न निगमलाई निर्देशन दिएको थियो ।
त्यस्तै, व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई नै सहयोग पु¥याउने उद्देश्यले गत असोज २२ गते इन्धन आयातको सबै उपाय अपनाउन निर्देशन दिएको थियो ।
निगमले गत कात्तिक ३ गते विश्वव्यापी मनसायपत्र आह्वान गरी इन्धन आयातमा सहभागी हुन आग्रह गरेको थियो । सोही आग्रह बमोजिम २२ वटा कम्पनी तथा संस्थाले इन्धन आयातको मनसाय राखेका थिए । ती मध्ये पेट्रोम्याक्सले सबैभन्दा सस्तोमा इन्धन आयात गर्ने प्रतिबद्धता जनाएको थियो । रासस
No comments:
Post a Comment