रत्ननगर (चितवन), २९ कात्तिक । चितवनमा भूकम्पपीडितहरुका समस्या ओझेलमा परेको छ । नाकाबन्दी, चाडबाड लगायत कारणले गएको भदौ महिनादेखि भूकम्पपीडितका लागि गर्नुपर्ने काम ठप्प छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले एक चरणको सरकारी राहत समेत सबै क्षेत्रमा पु¥याउन सकेको छैन । चितवनका प्रमुख जिल्ला अधिकरी विनोद प्रकाश सिंहले अधिकांश क्षेत्रमा राहत रकम पुगेको र केही क्षेत्रमा अझै नपुगेकाले केन्द्रमा राहत रकम माग गरिएको जानकारी दिनुभयो ।
पछिल्लो समयमा नाकाबन्दी, इन्धन अभाव र चाडबाडका कारण भूकम्प पीडितका लागि गर्नुपर्ने काममा सुस्तता आएको बताउँदै प्रजिअ सिंहले अझै छठ नसकिएसम्म समस्या रहने देखिएको बताउनुभयो ।
जिल्लामा विपद् समितिले अहिलेसम्म १२ हजार ४७ जना भूकम्पपीडितको भएको प्रमाणित गरेको छ । भूकम्पपीडित भएको भन्दै यहाँ १६ हजारभन्दा बढी व्यक्तिको निवेदन परेको भएपनि १२ हजारको मात्रै प्रभाणित भएको छ । उनीहरुको गएको भदौमा तेस्रो चरणअन्तर्गत प्रमाणित गरिएको भएपनि त्यसपछि समितिले काम गर्न सकेको छैन । पीडितमध्ये करिव ३ हजार ३ सय पूर्ण क्षतिको वर्गीकरणमा परेका छन् ।
जिल्लामा अझै चार हजार ३०० भन्दा बढी भूकम्पपीडित भएको भन्दै निवदेन परेको समितिका सूचना अधिकारी बलराम लुईंटेलले जानकारी दिनुभयो ।
विपद् समितिले राम्ररी काम गर्न नसक्दा उनीहरुका निवेदन अलपत्र परेको छ । गएको जेठदेखि परेका निवेदनसमेत थाती बसेको समितिका एक सदस्यले जानकारी दिए ।
जिल्लाको रत्ननगर नगरपालिका र भरतपुर उपमहानगर लगायतले परेका निवेदन विपद् समितिमा पठाउन ढिला गरेकाले यस्तो समस्या आएको छ ।
नगरपालिकाले समयमै विवरण दिन ढिला गरेकाले जेठमा दिएको निवेदनको समेत निर्णय हुन नसकेको देखिएको सूचना अधिकारी लुईंटेल बताउनुहुन्छ । जेठपछिका निवेदनसमेत अनुमोदन भएका छन् तर पुराना निवेदन नगरपालिकाको लापर्वाहीले गर्दा अलपत्र परेका छन् ।
पछिल्लो चरणमा आएका निवेदनहरु शंकास्पद देखिएको र अनुगमन गरेर मात्रै निर्णय गर्नुपर्ने भएकाले ढिला भएको विपद् समितिका संयोजक प्रजिअ सिंह बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “समितिमा आएका पुराना निवेदन रोकिएका छैनन् । नगरपालिका वा गाविसले दिन ढिला गरेको भए त्यसको जानकारी मलाई छैन ।”
उहाँका अनुसार अहिलेसम्म सवा ४ सय पीडितको पुनःस्थापना गरिएको छ । रासस
No comments:
Post a Comment