Thursday, November 12, 2015

वार्ता र सहमतिबाट समाधान खोज्न गृहमन्त्रीको आग्रह

काठमाडौँ, २६ कात्तिक । गृहमन्त्री शक्ति बस्नेतले वार्ता र सहमतिबाट समस्याको समाधान खोज्न मधेसवादी दललाई आग्रह गर्नुभएको छ ।

गृहमन्त्री बस्नेतले करिब दुई महिनादेखिको तराई बन्द र नाकाबन्दीका कारण जनता अत्यन्त मारमा परेको भन्दै वार्ता र सहमतिका आधारमा संसदबाटै समाधान खोज्नसमेत अपिल गर्नुभयो ।

मन्त्री बस्नेतले मधेसी मोर्चालाई बार्ताप्रतिको प्रतिबद्धतामा व्यावहारिक ढङ्गले सोच्न आग्रह गर्दै बार्तामा बस्दा असहज नहुने गरी आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो करिब दुई महिनायता मुलुकमा देखिएको समस्या समाधान गर्न सरकार अधिकतम लचकताकासाथ अघि बढ्दैछ, रिपोर्टर्स क्लब नेपालको अन्तरक्रियात्मक देउसी भैलो कार्यक्रममा मन्त्री बस्नेतले भन्नुभयो, ‘हिमाल, पहाड, तराई कोही कसैको चित्त नदुख्ने गरी, आत्मसम्मानमा चोट नपुग्ने गरी समस्याको समाधान गरिनेछ ।’

उहाँले सधैँभरी वार्तामा बस्ने र विना निष्कर्ष टुङ्गिने गर्नुभन्दा समस्याको समाधान गरी निष्कर्षमा पुग्ने गरी वार्ताको तयारी गर्न समेत आग्रह गर्नुभयो ।

नेपाली जनताको चाहनाअनुसार सबैलाई समेटेर संविधान जारी भएको अवस्थामा अब मुलुकलाई दीर्घकालीन शान्ति, समृद्धि र सुशासनसँगै विकासको बाटोमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

संविधान संशोधन गरेर भएपनि मधेसी समुदायले उठाएका जायज माग सम्बोधन गर्ने पनि मन्त्री बस्नेतले बताउनुभयो ।

‘नाकाबन्दीका कारण इन्धनमा देखिएको समस्या नेपाली सबै मिलेर सामना गर्दै मुलुकलाई आत्मनिर्भरताको बाटोमा अगाडि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts