काठमाडौँ, ८ मङ्सिर । नेपाली सेफहरुको छाता सङ्गठन सेफ्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा भूकम्पपीडितका लागि रु ३३ लाख सहयोगस्वरुप प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
एसोसिएसनले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी स्थापनाकालको २०औँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त सहयोग प्रदान गरेको जानकारी गराएको हो ।
एसोसिएसनका महासचिव सुरेशचन्द्र बस्नेतले संस्थाले सन् २०१६ देखि लागू हुनेगरी वल्र्ड एसोसिएसन अफ सेफ्स सोसाइटिजको सदस्यता प्राप्त गरेको जानकारी दिनुभयो ।
संस्थाद्वारा निर्मित पाककलासम्बन्धी आधुनिक ल्याबलाई प्रयोग गर्दै पाककला शिक्षालाई संस्थागत रुपमा अगाडि बढाउने बताउँदै उहाँले नेपाल सरकार र अन्तर्राष्ट्रिय कुकिङ कलेजबाट सम्बन्धन लिई सञ्चालन गर्ने योजना रहेको जानकारी गराउनुभयो ।
अघिल्लो हप्ता चीनमा आयोजना हुने वल्र्ड चाइनिज फुड च्याम्पियनसिपमा संस्थाका सल्लाहकार कृष्णकाजी बस्नेतको नेतृत्वमा गएको टोलीले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको थियो ।
एसोसिएसनमा हालसम्म एक हजार २० जना आजीवन, सक्रीय र साधारण सदस्य रहेको बताइएको छ । रासस
No comments:
Post a Comment