भक्तपुर, २५ कात्तिक । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले छिमेकी देश चीनबाट इन्धन आपूर्तिमा असहयोग गर्नेहरुलाई तत्काल कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
एमाले, रौतहट–काठमाडाँै सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको देउसीभैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “भारतले गरेको नाकाबन्दीले चरम अभाव खेप्नुपरेको नेपाललाई चीनले इन्धन दिन तयार रहेपछि सकेसम्म चीनबाट इन्धन ल्याउन नदिन खोज्ने र असहयोग गर्नेहरुलाई सरकारले तत्काल बर्खास्त गरेर कारबाही गर्नुपर्छ ।”
उहाँले नेपाललाई अप्ठ्यारो पर्दा सहयोग गरेर चीनले असल छिमेकीको पहिचान दिएको छ भन्दै भारतले असल छिमेकीको भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । उहाँले नेपालीलाई देशभक्ति, स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता प्यारो भएकाले नेपाल र नेपालीले कोही कसैसँग सम्झौता नगर्ने र नझुक्ने दृढता व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमाले नेता महेश बस्नेतले एमाले नेतृत्वको सरकार राष्ट्रियताको सवालमा कुनै विदेशी शक्तिसँग झुक्न नहुने सुझाव दिँदै इन्धन आपूर्तिमा भारतको विकल्प खोज्ने बेला आएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ काठमाडाँैका सभापति एवम् मञ्चका संयोजक गोविन्द चौलागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । रासस
No comments:
Post a Comment