काठमाडौँ, १० मङ्सिर । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको प्रथम महिला भेलाले सबै ट्रेड युनियनले समान कामका लागि समान ज्यालाको सुनिश्चितताको माग गरेको छ ।
यही मङ्सिर ९ र १० गते काठमाडौँमा भएको भेलाले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजना गरिएको पत्रकार सम्मेलनमा समन्वय केन्द्रका संयोजक सुधा दाहालले स्थानीय निकायका प्रमुख र उपप्रमुख पदमा महिला पुरुष आलोपालो प्रणालीका लागि व्यापक प्रचार अभियान तथा दवाव सिर्जना गर्ने जानकारी दिनुभयो ।
सांसद प्रभा बज्राचार्यले अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्र बनाउनपर्नेमा जोड दिँदै राज्यका हरेक निकायमा महिलामैत्री वातावरण निर्माण गर्नुपर्ने त्यसका लागि आवश्यक कानुन संशोधन गर्नुपर्ने बताउनुभयो ।
केन्द्रका सचिव सपना अर्यालले श्रमिक महिला आन्दोलनका विगतका उपलब्धि र पूरा हुन नसकेका मुद्दा आगामी दिनमा कसरी पूरा गराउने भन्नेबारेमा सहभागीले दिएका समानता र अधिकारका सुझावका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो ।
ट्रेड युनियनका नेतृत्व तहका निर्णायक पदमा समेत महिला पुरुष आलो–प्रणालीको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
केन्द्रअन्तर्गतका सबै युनियनले विधान कार्यक्रममा ३३ प्रतिशत स्थान महिला सहभागिताका लागि प्रतिनिधित्व सुनिश्चित गर्ने तथा महिला हिंसा र बालश्रम प्रयोगविरुद्ध आचारसंहिता जारी गर्न अविलम्ब उपयुक्त कदम सञ्चालन गर्ने भेलाले निर्णय गरेको छ ।
त्यसैगरी भेलाले ज्येष्ठ, विपन्न र एकल श्रमिक महिलाका लागि सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्न माग गरेको छ । रासस
No comments:
Post a Comment