सल्यान, ५ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेसवादी दलले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ ।
सबै समस्या समाधान गर्ने वार्ता नै भएकाले आन्दोलन रोकेर वार्ताबाट निकास दिन मधेसी दललाई उहाँले सुझाव दिनुभयो ।
सल्यानको श्रीनगरमा आज आयोजित दोस्रो सल्यानी युवा महोत्सवको उद्घाटन गर्दै नेता देउवाले आफ्नो हठ त्यागेर संवादमा आई समस्या समाधान गर्न मधेसी दललाई आग्रह गर्नुभयो ।
“सर्वसाधारण जनताको दैनिकी प्रभावित गर्नेगरी गर्ने आन्दोलनले कष्टमात्रै दिन्छ यसले कुनै निकास दिँदैन”– देउवाले भन्नुभयो– “औषधि र बिरामी बोकेका गाडी र एम्बुलेन्समा आगजनी गरेर आन्दोलन सफल हुँदैन ।”
यस्तै, प्रदेशको सीमाङ्कनको विषयमा बोल्दै नेता देउवाले कुनै एक दल वा पक्षले चाहँदैमा सीमा परिवर्तन नहुने दाबी गर्नुभयो । “प्रदेशको सीमाङ्कन गर्दा दलको सहमतिबाट भएको हो । कसैको इच्छा र चाहनाले यसको परिवर्तन हुँदैन, गर्नैपरे पनि कानुनी प्रक्रियाबाट निकास दिन सकिन्छ”– देउवाले भन्नुभयो ।
भारतले अघोषित नाकाबन्दी गरेर नेपाली जनतालाई दुःख दिएकाले यसलाई तत्काल हटाउनुपर्ने भन्दै देउवाले नेपालीले संविधान जारी गर्नु भारतको टाउको दुखाइको विषय नभएको बताउनुभयो । रासस
No comments:
Post a Comment