(बेनी) म्याग्दी, १६ कात्तिक । म्याग्दीका किसान जैविक मलतर्फ आकर्षित हुन थालेका छन् ।
जङ्गलमा झरेका पातलाई कुहाएर मल बनाई खेतबारीमा प्रयोग गर्नाले उत्पादन बढ्ने भएकाले यहाँका किसान जैविक मलतर्फ आकर्षित हुन थालेका हुन् । खेतीपाती गर्ने समयमा मल नपाइने र वर्षैपिच्छे रासायनिक मलमा हुने मूल्यवृद्धिका कारण किसान मर्कामा पर्दै आएका छन् ।
जैविक मलको प्रयोगले माटोको गुणस्तरमा सुधार भई उत्पादनमा वृद्धि गर्न सकिने भएकाले यो मल प्रभावकारी भएको बेनी नगरपालिका–५ का किसान राजु रिजालले बताउनुभयो ।
लामो समयदेखि रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति नाश भई उत्पादन घट्दै जाने भएकाले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न र उत्पादन बढाउन स्थानीयबासी टीकाबहादुर कार्कीले कृषकलाई सुझाव दिनुभयो । गाईवस्तुको गोबरमा जङ्गलमा खेर गइरहेका स्याउलाका पातलाई मिलाएर बनाएको मल खेतबारीका लागि निकै उपयोगी र प्रभावकारी हुन्छ ।
भकिम्लीका किसान दुर्गाबहादुर सापकोटाका अनुसार बजारमा रासायनिक मलको अभाव भइरहने भएकाले त्यसको भर परेर बस्नुभन्दा निःशुल्करूपमा पाइने पात कुहाएर गुणस्तरीय मल बनाउन सकिन्छ । जिल्लाका ग्रामीण भेगमा अहिले गोबरमल पनि महँगोमा बिक्री हुँदै आएको छ । एक डोका गोबर मलको रु १०० देखि रु २६० सम्म पर्छ ।
परम्परागत गोबर मलसँग मिलाएर प्रयोग गर्नाले बोटबिरुवालाई चाहिने नाइट्रोजन, फस्फोरस, पोटासलगायतका तत्व पाइन्छ । रासस
No comments:
Post a Comment