काठमाडौँ, १० मङ्सिर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले दलाल पुँजीवादलाई नियन्त्रण गरी राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपालमा पुँजीवादको चरित्र’ विषयक छलफलमा उहाँले नेपाली समाज पुँजीवादीमा गइसकेकाले दलाल पुँजीवादीलाई नियन्त्रण गरी राष्ट्रिय पुँजीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “मुलुक पुँजीवादमा गइसकेको छ, यसका चुनौती धेरै छन्, पुँजीवादका विभिन्न आयामको अध्ययन गरेर देशको अर्थनीति निर्माण गर्नुपर्छ ।” उहाँले स्वाधीन अर्थतन्त्रको विकास गर्न राज्यले अर्थनीति नै ल्याएर त्यही प्रक्रियाअनुसार कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले ‘नेपालमा पुँजीवादको चरित्र’ विषयक कार्यपत्र प्रस्तुत गर्दै विगत ४५÷४६ वर्षमा कृषिको योगदान ३० प्रतिशत घट्दै जाँदा व्यापार घाटामा वृद्धि भएको तथ्याङ्क उल्लेख गर्नुभयो । अहिले जम्मा ५६ प्रतिशत घरधुरीबाट एक वा बढी सदस्य वैदेशिक रोजगारीमा गएको वा र नेपालको राष्ट्रिय आयमा २८ प्रतिशत विप्रेषणको योगदान छ तर त्यसको केवल दुई प्रतिशत मात्रै पुँजीगत खर्च हुने गरेको कार्यपत्रमा उल्लेख छ ।
पूर्व अर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले नेपालको अर्थतन्त्र कृषि र उद्योगमा निर्भर भएको हुनाले व्यापार घाटा रोक्न उत्पादनशील जनशक्ति वृद्धि गरी कृषि, उद्योग, ऊर्जामा आत्मनिर्भर बनी वैदेशिक व्यापार घाटा कम गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले नेपाली उद्योग वा निर्माण कार्यमा विदेशी पुँजी लगानी गर्दा दीर्घकालीन रुपमा नेपाललाई हित हुने र रोजगारी वृद्धि हुने खालको भए लगानी स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो । रासस
No comments:
Post a Comment