Thursday, November 26, 2015

वैदेशिक रोजगारसम्बन्धी समस्या न्यून गर्न अख्तियारको सुझाव

काठमाडौँ, १० मङ्सिर । वैदेशिक रोजगारमा जाने कामदारले भोग्नुपरेको समस्या न्यून गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरोकारवाला निकायलाई सुझाव दिएको छ ।

वैदेशिक रोजगारमा जाने कामदारले दिएको निवेदन, सम्बन्धित क्षेत्रको स्थलगत अध्ययन र सरोकारवाला निकायमा भइरेका कामकारबाहीको अवलोकनपछि आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित, सम्बन्धित मन्त्रालय विभाग र दूतावासलगायतलाई सातबुँदे सुझाव दिएको आज आयोगमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्कर र महाशाखा प्रमुख पदमप्रसाद पाण्डेले नीतिगत एवम् कानुनी सुधार, संस्थागत एवम् संरचनागत सुधार, कर्मचारी व्यवस्थापनमा सुधार, कूटनीतिक कार्य, श्रमिकको क्षमता अभिवृद्धि र विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयन गर्न सुझाव दिएको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारमा गएका कामदारलाई पठाउने कम्पनी र दलालले ठग्ने, सम्बन्धित कम्पनीले सम्झौता बमोजिमको पारिश्रमिक नदिने, दुर्घटना हुँदा उपचारको प्रबन्ध नमिलाउने, बिमाबापत क्षतिपूर्ति नपाउनेजस्ता समस्या देखिएकाले आयोगले सो पहल गरेको हो ।

आयोगले वैदेशिक रोगारसम्बन्धी जानकार व्यक्तिलाई सम्बन्धित देशको राजदूत बनाउन, स्वदेशमै वैदेशिक रोजगारबाट फर्केका श्रमिकको सीप सदुपयोग गर्न तथा त्यसका लागि आवश्यक ऋण उपलब्ध गराउन, दक्ष तथा अर्धदक्ष कामदारलाई मात्र वैदेशिक रोजगारमा पठाउन, कामदार ठगिने र बेचिने कार्य बन्द गर्न, लापर्बाहीपूर्वक स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई कारबाही गर्न, कामदार पठाउँदा एकद्वार प्रणाली अपनाउन, विद्यमान श्रम सम्झौता परिमार्जन गर्न, अलपत्र परेका कामदारलाई सरकारले नै फिर्ता ल्याउने व्यवस्था गर्न सुझाव दिइएको छ ।

ती सुझाव कार्यान्वयन भए नभएको अनुगमन गर्ने र कार्यान्वयन नगर्ने निकायका पदाधिकारीविरुद्ध अवश्यकताअनुसार विशेष अदालतमा मुद्दा दायर गर्ने पनि प्रवक्ता पुस्करले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts