चितवन, २९ कात्तिक । स्थानीय जातका गाई लोप हुँदै गएपछि देवघाट क्षेत्रको बागेश्वरीमा गाई संरक्षण केन्द्र स्थापना गरी गाईपालन गरिंँदै आएको छ ।
विसं २०४९ मा योगी नरहरी नाथले स्थानीय गाई सङ्कलन गरेर सुरु गरेको संरक्षण केन्द्र दाताबाट सञ्चालन हँुदै आएको छ ।
दुईवटा गाईबाट सुरु गरिएको केन्द्रमा हाल २०० गाई पुगेका छन् । केन्द्रका संयोजक टङ्कनाथ पौडेलका अनुसार रु एक लाख दान गरेका १४ जना संरक्षक, रु ११ हजार दान गरेका १०० जना आजीवन सदस्य, वार्षिक रुपमा पराल उपलव्ध गराउने १५ जना तथा चोकर उपलब्ध गराउने २० जना दाताको सहयोगमा गाईको पालन पोषण हँुदै आएको छ ।
केन्द्रले सो रकमबाट गाई संरक्षणका लागि रु २१ लाखको अक्षय कोष समेत स्थापना गरेको छ । गाईको दूध गौसेवक र बाच्छा, बाच्छिलाई दिइन्छ भने मुत्र सङ्कलन गरी प्रशोधन गरेर ‘अर्क’ बिक्री गरिँदै आएको छ । हाल केन्द्र आफैले प्रशोधन गरेर प्रतिलिटर रु ३०० मा ‘अर्क’ बिक्री गर्दै आएको छ ।
‘अर्क व्यवस्थापन गरी बिक्रीका लागि केन्द्रले मासिक रु ३० हजार लिएर ठेक्कामा दिने तयारी गरेको पौडेलले बताउनुभयो । “यहाँको अर्क काठमाडाँैं, पोखरा, भैरहवालगायतका ठाउँमा पुग्छ” उहाँले भन्नुभयो ।
माग निकै बढी रहेको भन्दै पौडेलले जति उत्पादन गरे पनि बिक्री गर्न सकिने बताउनुभयो । दूध प्रतिलिटर रु ५० सम्म पर्छ भने अर्क प्रतिलिटिर रु ३०० मा बिक्री हुने हुँदा यसको उचित व्यवस्थापन गरेमा केन्द्र सञ्चालन सहज बन्ने उहाँले बताउनुभयो ।
त्यसैगरी गोबरलाई व्यवस्थित गरेर अर्गानिक मल निर्माण गरी प्याकिङ गरेर बिक्री गर्ने तयारीसमेत गरिएको पौडेलले बताउनुभयो । केन्द्र सञ्चालनका लागि बाच्छा हुर्किएपछि बिक्री गर्ने समेत गरिएको छ ।
सो केन्द्रमा १० जना गौसेवक रहेका छन् । उनीहरुलाई खाने बस्ने एवम् सामान्य पारिश्रमिक मात्र दिने गरिएको छ । गाईलाई स्थानीय वन क्षेत्रमा चराउने गरिन्छ भने दाताले दिएको पराल, चोकर अपुग भए किनेर खुवाउने गरिन्छ ।
केन्द्रको नजिकै रहेको वन क्षेत्रलाई सरकारले ‘औषधि विज्ञान कलेज’लाई भाडामा दिएपछि पछि मुद्दा मार्फत् सो ठाउँ योगी नरहरी नाथले खाली गराउन सफल हुनुभएको थियो । रासस
No comments:
Post a Comment