Saturday, November 7, 2015

हिउँचितुवाको आक्रमणबाट दश भेडाच्याङ्ग्रा मरे

मुस्ताङ, २१ कात्तिक । जोमसोम–४ ठिनी गाउँमा शुक्रबार राति हिउँ चितुवाको आक्रमणबाट एकै गोठका १० भेडाच्याङग्रा मरेका छन् ।

गाउँका बीचमा रहेको गोठमा राति करिब २ः०० बजे आएको हिउँचितुवाले दुई च्याङ्ग्रा पनि लगेको स्थानीयवासीले जानकारी दिएका छन् ।

ठिनीका अगुवा भेडाबाख्रा पालक किसान आइतबहादुर थकालीले पालेका भेडाबाख्रा मारेपछि स्थानीयवासी त्रसित बनेका छन् । उनीहरुले नजिकै जङ्गलबाट आएको हिउँ चितुवाले मानिसमाथि समेत आक्रमण गर्ने सम्भावना बढेको जनाई तत्काल त्यसलाई नियन्त्रणमा लिन आग्रह गरेका छन् ।

स्थानीयवासी नीरज थकालीले २०० भेडाच्याङग्रा रहेको गोठमा बिहानपख मात्रै हिउँ चितुवा आई जङ्गलतिर लागेको जानकारी दिनुभयो । “मान्छेलाई समेत नटेर्ने भइसक्यो, अब हामी पनि सुरक्षित रहेनौँ,” उहाँले भन्नुभयो । भेडाच्याङ्ग्रा मरेपछि कृषक थकालीलाई कम्तीमा रु एक लाख ५० हजार घाटा भएको छ ।

स्थानीयवासीले हिउँ चितुवालाई मार्न खोजे पनि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने भएकाले एक्यापको अनुमति लिनुपर्ने बताइएको छ । तीन वर्षदेखि एक्यापले जिल्लाभर हिउँ चितुवा संरक्षण अभियान सञ्चालन गरेपछि पछिल्ला वर्षमा हिउँ चितुवाको सङ्ख्या बढ्दै गएको एक्याप जोमसोमका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो । रासस
––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts