गौशाला, १६ कात्तिक । तराई मधेसका विभिन्न ठाउँमा अब संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अलग राष्ट्रका लागि आन्दोलन गर्ने कुरा चलिरहेको बेला सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु अलग राष्ट्रको लडाईंमा नरहेको बताउनुभएको छ ।
महोत्तरीको जलेश्वरमा आज दिउँसो पत्रकारसम्मेलन गर्नुहुँदै नेता यादवले मोर्चा बिखण्डनवादी नभएको तथा सच्चा राष्ट्रवादीको परिचय दिँदै देशको सार्वभौमसत्ता र अखण्डताभित्र रहेर स्वायत मधेस प्रदेशका लागि लडिरहेको प्रस्ट्याउनुभयो ।
उहाँले सरकार मधेसीमोर्चासंगको वार्ताप्रति संवेदनशील नरहेको उहाँले आरोप लगाउनुभयो । उहाँले सरकारले वार्तालाई मोर्चाको कमजोरीको रुपमा बुझेको र आन्दोलन मत्थर पार्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले अब मधेसी जनताको अधिकार प्राप्तिका लागि मोर्चाले सशक्त सङ्घर्ष र व्यापक जनसङ्घर्षको कार्यक्रम गर्ने बताउनुभयो । साथै, सरकारले अब मधेसको माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेमा मात्रै मोर्चा वार्तामा जाने नत्र अब भारतीय सीमानाका साथै राजमार्ग अवरुद्ध गर्दै आन्दोलनलाई निरन्तरता दिने बताउनुभयो । रासस
No comments:
Post a Comment